जनकपुरधाम । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको कार्यतालिकाअनुसार महाधिवेशनको निर्वाचन प्रक्रिया भदौ अन्तिम साताबाट सुरु भई असोज ११ गतेसम्म सञ्चालन हुनेछ ।
पार्टीले मनोनयनपत्र दर्तादेखि मतगणना तथा परिणाम घोषणासम्मका सम्पूर्ण प्रक्रियाको कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिकाअनुसार भदौ २१ गते सम्पूर्ण वडा, पालिका तथा जिल्ला अधिवेशनको विवरण अद्यावधिक गरिनेछ । सोही दिन पार्टीका सम्पूर्ण केन्द्रीय तथा प्रदेश निकाय, विभाग तथा मोर्चाका केन्द्रीय र प्रदेश समितिको विवरणसमेत अद्यावधिक गरिने जनाइएको छ ।
यस्तै, भदौ २८ गते जिल्लाबाट मनोनीत गरिएका सम्पूर्ण महाधिवेशन प्रतिनिधिको विवरण अद्यावधिक गरिनेछ । भदौ २९ गते मतदाता नामावली प्रकाशन गरिनेछ भने भदौ ३० गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध गर्न सकिनेछ ।
त्यसपछि २०८३ असोज १ गतेदेखि महाधिवेशनको निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ । उक्त दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । असोज २ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ ।
प्रकाशित नामावलीमाथि असोज ३ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दाबी विरोध गर्न सकिनेछ । असोज ४ गते बिहान १० बजेदेखि साँझ ४ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने कार्यतालिका रहेको छ ।
असोज ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । असोज ९ गते निर्वाचन तयारीसम्बन्धी बैठक आयोजना गरिनेछ भने असोज १० गते महाधिवेशन तथा मतदान प्रक्रिया सञ्चालन हुनेछ ।
मतदान सम्पन्न भएपछि असोज ११ गते मतगणना गरी निर्वाचनको परिणाम घोषणा गरिने पार्टीले जनाएको छ । सोही दिन केन्द्रीय कार्यकारिणी समितिको बैठकसमेत बस्ने र पार्टीसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरिने जनाइएको छ ।
पार्टीले उम्मेदवारी मनोनयनपत्र दर्ता, मनोनयन फिर्ता, दाबी विरोध तथा अन्य सुझावका लागि डिजिटल माध्यम (इमेल) को समेत व्यवस्था गरेको छ । निर्वाचनसम्बन्धी कामका लागि janamatparty@gmail.com इमेल ठेगाना उपलब्ध गराइएको छ । उम्मेदवारीसँग सम्बन्धित आवश्यक कागजात उक्त इमेल ठेगानामा पठाउन सकिने कार्यतालिकामा उल्लेख छ ।
पार्टीले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाले मतदाता नामावली प्रकाशन, दाबी विरोध, उम्मेदवारी दर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान, मतगणना तथा परिणाम घोषणासम्मका सबै चरणको मिति र समय स्पष्ट पारेको छ । यससँगै जनमत पार्टीको दोस्रो महाधिवेशनको आन्तरिक निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ ।




