काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह फेरि एकपटक प्रधानमन्त्री बालेन्द्र शाहप्रति आक्रामक रूपमा प्रस्तुत भएका छन् । बालेन नेतृत्वको सरकार गठन भएयता निरन्तर आलोचना गर्दै आएका सिंहले बिहीबार प्रतिनिधिसभाको बैठकमा सरकारलाई ‘तासको घर’को संज्ञा दिएका छन् ।
सिंहले सरकारको केन्द्र सिंहदरबार नभएर ललितपुरको ज्वागल बनेको आरोप लगाए । उनले वर्तमान सरकार संविधानअनुसार सञ्चालन नभएको दाबी समेत गरे । ‘संविधानअनुसार सरकार चलिरहेको छैन । हामीले अहिले अर्को संविधानको कल्पना पनि गरेका छैनौँ,’ उनले भने ।
सरकारका सल्लाहकारका कारण शासनको केन्द्र सिंहदरबारबाहिर पुगेको उनको आरोप थियो । ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला,’ सिंहले भने, ‘सरकारको केन्द्र सिंहदरबार हुन्छ भन्ने मैले बुझेको छु । तर अहिले सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ ।’
प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनलाई संकेत गर्दै सिंहले उनका कारण सरकार बदनाम भइरहेको आरोप लगाए । बेन ललितपुरको ज्वागलमा बस्दै आएको उल्लेख गर्दै सिंहले उनी केही समयअघि नयाँदिल्ली पुगेर लिजा होटलमा बसेको दाबी समेत गरे ।
सिंहले वर्तमान सरकारले संविधानका आधारभूत स्तम्भमाथि समेत प्रहार गरिरहेको आरोप लगाए । उनका अनुसार निर्वाचनका बेला संविधान परिवर्तन गर्ने विषयमा कुनै प्रतिबद्धता जनाइएको थिएन ।
‘चुनावी मैदानमा जाँदा हामी संविधान बदल्छौँ भनेका थिएनौँ,’ उनले भने, ‘तर अहिले सरकारले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि प्रहार गरिरहेको छ ।’ सिंहले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै संविधानको मूल भावना र त्यसका आधारभूत मूल्य मान्यताको संरक्षण गर्नुपर्नेमा जोड दिए ।




