जनकपुरधाम । ज्यान मार्ने उद्योग मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मनराशिसवा नगरपालिकाका पूर्वअध्यक्ष रमण सिंहलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई छल्दै रास्वपा सहमहामन्त्री एवं सांसद हरि ढकालले आफ्नो गाडीमा राखेर लगेका छन् ।
चितवन १ बाट निर्वाचित सांसद समेत रहेका ढकालले प्रहरीको पक्राउबाट जोगाउन सिंहलाई आफ्नो गाडीमा राखेर घटनास्थलबाट लगेको आरोप लागेको हो । यस्तो आरोप सोही पार्टीका कार्यकर्ता तथा घटनाका पीडित गोविन्द कुमार कापरले लगाएका छन् ।
घटना आइतबार महोत्तरीको जिल्ला समन्वय समितिमा आयोजित रास्वपाको लेखापरीक्षण कार्यक्रमका क्रममा भएको बताइएको छ । पार्टीको लेखापरीक्षण कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेका सांसद ढकालले प्रहरी पक्राउ गर्न पुगेका सिंहलाई गाडीमा राखेर त्यहाँबाट लगेको पीडित पक्षको आरोप छ ।
सिंहविरुद्ध कापरले ज्यान मार्ने उद्योगसम्बन्धी जाहेरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिएका थिए । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले सिंहलाई पक्राउ गर्न पुगेको थियो ।
प्रहरीलाई कार्यकर्ताले घेरेपछि सिंहलाई गाडीमा राखेर लगेको आरोप
प्रहरी सिंहलाई पक्राउ गर्ने तयारीमा रहेका बेला उनका पक्षका केही व्यक्तिले नाराबाजी गर्दै प्रहरी टोलीलाई घेरेका थिए । त्यसपछि प्रहरीलाई कार्यक्रमस्थलभित्र प्रवेश गर्न समेत अवरोध गरिएको बताइएको छ । त्यही क्रममा सांसद ढकालले सिंहलाई आफ्नो गाडीमा राखेर त्यहाँबाट लगेको आरोप लागेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पनि घटनाको पुष्टि गरेको छ । प्रहरीका अनुसार गत जेठमा रास्वपाको नगर अधिवेशनका क्रममा दुई पक्षबीच झडप भएको थियो । उक्त घटनामा गोविन्द कुमार कापरसहित केही व्यक्ति घाइते भएका थिए ।
कापरको जाहेरीका आधारमा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनलाई पक्राउ गर्न प्रहरी टोली पुगेको महोत्तरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँ रास्वपाका केही कार्यकर्ताले होहल्ला गर्दै पक्राउमा अवरोध गर्न खोजेका थिए । सोही क्रममा पार्टीका एक नेताले आरोपीलाई आफ्नो गाडीमा राखेर लगेको प्रहरीको भनाइ छ ।
झडपमा तीन जना घाइते
गत जेठ १७ गते मनराशिसवा नगरपालिकामा रास्वपाको नगर अधिवेशनका क्रममा दुई पक्षबीच झडप भएको थियो । उक्त झडपमा बथनाहाका २८ वर्षीय गोविन्द कुमार कापर, २५ वर्षीय अभिषेक झा र रविशंकर चौधरी घाइते भएका थिए ।
घटनापछि कापर पक्षले रमण सिंहविरुद्ध जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी दिएको थियो । रास्वपाले आगामी महाधिवेशनको तयारीस्वरूप देशभर नगर अधिवेशन सञ्चालन गरिरहेका बेला मनराशिसवामा विवाद भएको थियो ।
सिंहले आफू पुन: नेतृत्वमा आउने गरी निर्वाचन प्रक्रियामा सहभागी नहुने अडान राखेको विषयमा कापर पक्षले विरोध गरेपछि विवाद बढ्दै झडपमा परिणत भएको बताइएको छ ।
जाहेरी फिर्ता लिन दबाब
यसअघि सिंहविरुद्ध परेको जाहेरी फिर्ता लिन पीडित पक्षलाई दबाब दिइएको आरोप समेत लागेको छ । पीडित पक्षका अनुसार जाहेरी मिलाउन सांसद ढकालले जिल्ला प्रशासन कार्यालयमा समेत छलफलका लागि बोलाएका थिए । तर कापर पक्षले जाहेरी फिर्ता लिन अस्वीकार गरेको बताइएको छ ।
आरोपीलाई पक्राउ गर्न पुगेका प्रहरीलाई रोक्दै सांसद ढकालले आफ्नै गाडीमा राखेर लगेको आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत रास्वपाको आलोचना भइरहेको छ । घटनामा सांसद ढकालको भूमिकाबारे थप अनुसन्धान तथा सम्बन्धित पक्षको आधिकारिक धारणा आउन बाँकी छ ।




