रौतहट । चन्द्रपुर नगरपालिकाको बैंक खाता लामो समयदेखि सञ्चालनमा नआएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रपुर नगर समितिले तत्काल समस्या समाधान गर्न माग गरेको छ ।
बैंक खाता सञ्चालनमा नआउँदा नगरपालिकाको आर्थिक तथा प्रशासनिक गतिविधि प्रभावित हुनुका साथै शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायत सार्वजनिक सेवा प्रवाहमा समेत असर परेको रास्वपाको दाबी छ । यसको प्रत्यक्ष असर नगरवासीले भोग्नुपरेको समितिले जनाएको छ ।
समस्या समाधानका लागि दबाब दिन रास्वपा चन्द्रपुर नगर समितिको टोली मंगलबार नगरपालिका कार्यालय पुगेको थियो । टोलीले नगरप्रमुखलाई सम्बोधन गर्दै बैंक खाता तत्काल सञ्चालनमा ल्याउन मागसहित लिखित विज्ञप्ति बुझाएको हो ।
नगर सभापति अरुण लामाको नेतृत्वमा पुगेको टोलीमा जिल्ला सदस्य अजयकुमार शाह, वडा नम्बर ४ का सभापति रेवती दाहाल, वडा नम्बर ६ का सभापति विष्णु थापाका साथै युवा नेता सुशील यादव, नवीन शाह र सन्तोष काफ्लेलगायत सहभागी थिए ।
नगर सभापति लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा बैंक खाता सञ्चालन हुन नसक्दा नगरपालिकाको नियमित आर्थिक कारोबार प्रभावित भएको र त्यसको असर शिक्षा, स्वास्थ्य तथा विकास निर्माणसँग सम्बन्धित काममा परेको उल्लेख छ ।
रास्वपाले बैंक खाता सञ्चालनमा नआउनुलाई नगरपालिकाको सामान्य प्रशासनिक समस्या मात्र नभई नागरिकको सार्वजनिक सेवा र विकाससँग प्रत्यक्ष जोडिएको विषयका रूपमा लिएको जनाएको छ । लामो समयसम्म समस्या समाधान हुन नसक्दा नगरवासीले अनावश्यक दु:ख र सास्ती व्यहोर्नुपरेको समितिको दाबी छ ।
नगरपालिकाको आर्थिक गतिविधि नियमित हुन नसक्दा आगामी दिनमा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा थप समस्या आउन सक्ने भन्दै रास्वपाले तत्काल आवश्यक पहल गर्न नगरपालिका नेतृत्वसँग आग्रह गरेको छ ।
समितिले बैंक खाता तत्काल सञ्चालनमा ल्याउन माग गर्दै समस्या समाधान नभए नगरपालिका कार्यालयमै उपस्थित भएर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनी समेत दिएको छ ।




