रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन् । यादवले सोमबार विज्ञप्ति जारी गर्दै साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।
पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पछिल्लो समय कार्यकर्ताप्रति नेतृत्वको व्यवहारप्रति प्रश्न उठाएका छन् । पार्टीभित्र कार्यकर्तालाई दास र नोकरसरह व्यवहार गर्ने प्रवृत्ति बढेको उनको आरोप छ ।
यादवले पार्टीको नीति, नियम, विधान र सिद्धान्तअनुसार संगठन सञ्चालन हुन नसकेको दाबीसमेत गरेका छन् । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएपछि आफूले बाध्य भएर पार्टीबाट अलग हुने निर्णय गरेको उनले बताएका छन् ।
पार्टीबाट अलग भएसँगै यादवको आगामी राजनीतिक कदमलाई लिएर रौतहटको राजनीतिक वृत्तमा चासो बढेको छ । यद्यपि, उनले तत्काल कुन राजनीतिक दल वा शक्तिसँग आबद्ध हुने भन्नेबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।




