वीरगन्ज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विदेशी शक्तिको प्रभावमा सञ्चालन भइरहेको आरोप लगाएका छन् ।
बुधबार वीरगन्जमा आयोजित नेकपा पर्साको पार्टी एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मुलुक अहिले असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको दाबी गरे ।
उनका अनुसार वैदेशिक शक्ति केन्द्रको प्रभाव र सरकारका निर्णयविरुद्ध वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्य आवश्यक भएको छ । संविधान, गणतन्त्र र विगतका राजनीतिक उपलब्धिको संरक्षणका लागि सडक, संसद् र निर्वाचनमार्फत राजनीतिक संघर्ष अघि बढाउनुपर्ने उनले बताए ।
‘संविधान र गणतन्त्र जोगाउन हामीले हिजो पनि मध्यरातिसम्म संघर्ष गरेका थियौँ, आज पनि खतराको घण्टी बजिरहेको छ,’ प्रचण्डले भने । उनले वर्तमान परिस्थितिलाई संविधान र गणतन्त्रको संरक्षणसँग जोड्दै परिवर्तनकारी शक्तिहरूबीच एकता आवश्यक रहेको बताए ।
‘मधेसका जनता फेरि एकजुट हुनुपर्छ’
प्रचण्डले मधेसका जनता विगतका राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै अहिले पनि सामाजिक अन्याय र राजनीतिक चुनौतीविरुद्ध एकजुट हुनुपर्ने बताए । ‘मधेसका जनता क्रान्तिकारीका उत्तराधिकारी हुन् । त्यसैले वर्तमान निरंकुशता र सामाजिक अन्यायविरुद्ध फेरि एकपटक एकजुट भएर जाग्नुपर्ने समय आएको छ,’ उनले भने ।
उनले वर्तमान सरकारले दुई तिहाइको शक्ति देखाउँदै सुकुम्बासीमाथि डोजर र बल प्रयोग गरेको तथा तराई–मधेसका साना व्यवसायी र किसानमाथि करको भार बढाएको आरोप पनि लगाए । उनले विधि र प्रक्रिया मिचेर गिरफ्तारी गर्ने तथा नागरिकका लोकतान्त्रिक अधिकार सीमित गर्ने काम भइरहेको दाबी गरे ।
जेनजी आन्दोलनबारे प्रचण्डको फरक व्याख्या
प्रचण्डले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे पनि आफ्नो धारणा राखे । उनले भदौ २४ गते भएका हिंसात्मक तथा तोडफोडका घटनालाई ‘ध्वंस’को संज्ञा दिँदै त्यसको गहिरो अनुसन्धान आवश्यक रहेको बताउँदै आएका छन् ।
हालै सार्वजनिक उनका अभिव्यक्तिमा पनि भदौ २४ का घटनामा गलत तत्वले आन्दोलनलाई उपयोग गरेको हुन सक्ने उल्लेख छ । वीरगन्जमा उनले सामाजिक सञ्जालका एल्गोरिदमले जनमतलाई प्रभावित गरिरहेको दाबी गरे ।
‘सोसल मिडियाको एल्गोरिदमले जनतालाई अफिमको नशाजस्तै बनाएको छ,’ उनले भने, ‘हामीले गरेका जनपक्षीय काम, पूर्वाधार विकास र सामाजिक न्यायका मुद्दा जनतामाझ सही ढंगले लैजान नसक्दा भ्रम पैदा भएको हो ।’
माधव नेपालको जोड : कम्युनिष्ट शक्तिबीच एकता
कार्यक्रममा नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माणका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताए ।
उनले पार्टी संगठनलाई आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित गर्दै आफ्नो दललाई बलियो बनाउन नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरे । कार्यक्रम नेकपा पर्साका संयोजक जयप्रकाश थारूको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य मातृका यादव, नेकपा मधेस प्रदेश इन्चार्ज महेन्द्रप्रसाद यादव, नेता रामकुमार भट्टराईलगायतले सम्बोधन गरेका थिए ।




