सर्लाही । उत्तरी चुरे क्षेत्रमा लगाइएको हिउँदे मकैबालीमा फौजी किराको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन् । किराले मकैको पात र गुबो खाएर बोट नै सखाप पार्न थालेपछि उत्पादन घट्ने र खेतीमा गरेको लगानी डुब्ने चिन्ता बढेको हो ।
सर्लाहीको घारिबथान, परवानीपुर, पत्थरकोट, नारायणखोला र अत्रौलीलगायत चुरे क्षेत्रका पाखोबारीमा लगाइएको हिउँदे मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । किराले मकैका कलिला पात र गुबोमा क्षति पुर्याउँदा बोटको वृद्धि प्रभावित भएको किसानले बताएका छन् ।
सिँचाइ सुविधाको अभाव रहेको चुरे क्षेत्रमा किसानले असार–साउनमा वर्षा भएपछि बारीमा रहने चिस्यानको उपयोग गर्दै हिउँदे मकै खेती गर्ने गरेका छन् । तर, पछिल्ला केही वर्षयता बर्खे र हिउँदे दुवै यामको मकैबालीमा फौजी किराको प्रकोप बढ्दै जाँदा उत्पादनमा गिरावट आएको किसानको गुनासो छ ।
ईश्वरपुर नगरपालिका १२ स्थित गुइडुङ गाउँका किसानले वर्षौंदेखि फौजी किराको समस्या झेल्दै आएको बताएका छन् । पटक–पटक कीटनाशक औषधि प्रयोग गर्दा पनि किरा नियन्त्रणमा आउन नसकेको र खेतीको लागत बढ्दै गएको उनीहरूको भनाइ छ ।
फौजी किराले मकैको पात खाएर प्वाल पार्ने, गुबोभित्र पसेर क्षति पुर्याउने तथा बोटको सामान्य वृद्धि रोक्ने गर्छ । प्रकोप तीव्र हुँदा छोटो समयमै ठूलो क्षेत्रफलको बालीमा क्षति पुग्न सक्ने भएकाले किसानलाई समयमै नियन्त्रणका उपाय अपनाउन कृषि प्राविधिकले सुझाव दिएका छन् ।
लालबन्दी नगरपालिकाको कृषि शाखाका अनुसार फौजी किरा नियन्त्रणका लागि एउटै प्रकारको कीटनाशक औषधि पटकपटक प्रयोग गर्नु उपयुक्त हुँदैन । एउटै समूहको औषधि निरन्तर प्रयोग गर्दा किरामा त्यसप्रति प्रतिरोध क्षमता विकास हुन सक्ने भएकाले कृषि प्राविधिकको सल्लाहमा उपयुक्त औषधि छनोट र प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।
कृषि प्राविधिकले मकैबालीको नियमित अनुगमन गर्न, किराको प्रारम्भिक लक्षण देखिनेबित्तिकै पहिचान गर्न र सिफारिसअनुसार नियन्त्रणका उपाय अपनाउन किसानलाई आग्रह गरेका छन् । औषधिको मात्रा र प्रयोग विधिमा सावधानी अपनाउनुका साथै अनावश्यक रूपमा विषादी प्रयोग नगर्न पनि आवश्यक छ ।
यसअघि धानबालीमा समेत फौजी किराका कारण क्षति पुगेको घटनालाई ध्यानमा राख्दै कृषि प्राविधिकले धानबालीको पनि नियमित निगरानी गर्न सुझाव दिएका छन् । विशेषगरी बालीको संवेदनशील अवस्थामा किराको गतिविधिमा ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।
सर्लाहीको उत्तरी चुरे क्षेत्रका किसानका लागि फौजी किराको प्रकोप हरेक वर्ष गम्भीर चुनौती बन्दै गएको छ । समयमै प्रभावकारी नियन्त्रण हुन नसके मकै उत्पादनमा थप गिरावट आउनुका साथै किसानको आम्दानीमा समेत असर पर्ने देखिन्छ । त्यसैले प्रकोपको पहिचान, प्राविधिक सेवा र प्रभावकारी नियन्त्रणका उपाय किसानसम्म समयमै पुर्याउन आवश्यक छ ।




