काठमाडौं । सरकारले मोटरसाइकलको अन्त:शुल्क बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार प्रतिनिधि सभामा पेश गरेको बजेट प्रतिस्थापन विधेयकमार्फत अन्त:शुल्क बढाएका हुन् ।
सरकारले भन्सार शीर्षक ८७११.२०.९२ मा आयात हुने १ सय २५ सीसी नाघेको तर २ सय सिसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क वृद्धि गरेको छ । यो शीर्षकमा अब ५० प्रतिशत कर तिर्नुपर्छ । यो भन्दा अघि ४० प्रतिशत लाग्दै आएको थियो ।
यस्तै भन्सार शीर्षक ८७११.२०.९९ मा आयात हुने २ सय सीसी नाघेको तर २ सय ५० सीसी ननाघेको मोटरसाइकलमा १० प्रतिशत अन्त:शुल्क बढेको छ । अब यो शीर्षकमा ६० प्रतिशत अन्तःशुल्क लाग्नेछ ।
यो शीर्षकमा यसअघि ५० प्रतिशत कर लाग्दै आएको थियो । भन्सार शीर्षक नम्बर ८७११.३०.९० मा आयात हुने अन्य शीर्षकमा पनि २० प्रतिशत अन्तःशुल्क बढाइएको छ । यो शीर्षकमा ६० प्रतिशत अन्त:शुल्क लाग्दै आएको थियो ।
भन्सार शीर्षक नम्बर ८७११.४०.०० मा आयात हुने ५ सय देखी ८ सय सीसी क्षमतासम्म ८० प्रतिशत लाग्दै आएको कर बढाएर १०० प्रतिशत पुर्याइएको छ । ८ सय सिसीभन्दा बढी सीसीको मोटरसाइकलमा १ सय प्रतिशत अन्तःशुल्क लिइने छ ।






