एजेन्सी । संक्रामक रोगका बिरामीहरूलाई निको नहुन्जेल स्वस्थ व्यक्तिहरूबाट टाढा राखेरै रेखदेख र उपचार गर्ने विधि प्राचीन कालदेखि नै चल्दै आएको हो । धर्मशास्त्रहरूमा समेत एकान्तवास अर्थात् आइसोलेसनका सन्दर्भहरू उल्लेख भएको पाइन्छ ।
अहिले विश्वमा जारी कोरोना भाइरस महामारीका कारण सेल्फ आइसोलेसन तथा क्वारेन्टाइन जस्ता शब्दहरू पुनः एकपटक जनजिब्रोमा कण्ठ भएका छन् । कोरोना भाइरस महामारीको रोकथामका लागि कुनै नयाँ ठाउँबाट आएका आम मानिसहरूलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि सुझाव दिइन्छ ।
तथापि शंकास्पद तथा जोखिमयुक्त मानिसलाई क्वारेन्टाइनमा राख्ने यो विधि तथा स्वयंमा यो शब्दको इतिहासचाहिँ रोचक छ । यो शब्दको इतिहासको जरो मध्यकालीन युरोपसम्म फैलिएको छ । क्वारेन्टाइन शब्द इटालियन भाषाको क्वारेन्तिनोबाट आएको हो । यसको शाब्दिक अर्थ हुन्छ ४० दिनको अवधि ।
१४ औँ शताब्दीमा युरोपमा फैलिएको प्लेग रोगबाट भेनिसलगायतका तटीय सहरहरुलाई बचाउनका लागि संक्रमित बन्दरगाहबाट ती सहरमा जाने हरेक जहाजलाई सहरको धर्ती छुनुअघि ४० दिनसम्म पानीमै अठ्याएर राखिन्थ्यो ।
अर्थात् कुनै पनि जहाजले एक यात्रा पूरा गरेसँगै अर्को यात्रा सुरु गर्नका लागि ४० दिन विश्राम लिनुपर्थ्यो । यसरी जहाजलाई चालीस दिनसम्म सहरको तटीय क्षेत्रको माटो छुन नदिई पानीमै तैराएर राख्ने उक्त विधिलाई बिस्तारै क्वारेन्टाइन भन्न थालियो ।
सन् १३७४ मा भेनिस सहरले एक आदेश जारी गर्यो । उक्त आदेशअनुसार भेनिस आउने पानी जहाज तथा त्यसका यात्रीहरूलाई भेनिसको विशेष स्वास्थ्य परिषद्ले अनुमति नदिएसम्मको लागि नजिकैको लैजारो टापुमा रोकिनुपर्ने थियो ।
उक्त व्यवस्थाका कारण भेनिसमा केही देशका जहाज तथा यात्रीहरूमाथि भेदभाव तथा अन्य दुर्व्यवहार हुन थाल्यो । त्यस्तै, एड्रियाटिक सागरमा अवस्थित रागुजा टापुको प्रशासनले महामारी फैलिनबाट रोक्नका लागि सन् १३७७ मा एउटा कानुन बनायो ।
जसअनुसार रागुजा टापुमा आउने हरेक जहाज तथा व्यापारीहरूको टोली ३० दिनसम्म कतैपनि घुलमिल नभई अलग्गै रहनुपर्नेभयो । त्यस्तै, बाहिरबाट आउने त्यस्ता व्यक्तिहरू संक्रमणमुक्त होऊन् भन्नका लागि रागुजाको मुख्य सहर पस्नु अगाडि ३० दिनसम्म म्य्राकन टापुमा बस्नुपर्ने नियमसमेत लागु गरियो ।
बाहिरबाट आउने हरेक व्यक्तिका लागि लागु गरिएको उक्त नियम पक्षपातरहित थियो र सफल पनि भयो । फलतः समयक्रममा संक्रामक रोगको फैलावट रोक्नका लागि अन्य देशहरूले समेत क्वारेन्टाइनको यस्तो विधि अवलम्बन गर्न थाले । जुन अहिलेको महामारीमा सबैभन्दा धेरै प्रचलनमा रहेको छ ।






