एजेन्सी । भारतको हरियाणास्थित रोहतक गाउँमा दुलहीले बिवाहको नाटक गरी गरगहना र पैसा लुटेर दुलहाको घरबाट फरार भएकी छिन् । पीडित सुरेश कुमारले दलालको कुरा सुनेर छत्तीसगढकी एक युवतीसँग अदालतमा बिवाह गरेका थिए ।
ती युवती सुरेश भन्दा १० वर्ष जेठी थिइन् । बिवाहको लागि उनले दलाललाई ७० हजार रुपैयाँ पनि दिएका थिए । बिवाहपछि ती युवती परिवारसँग यसरी घुलमिल भइन् कि उनले सबैको भरोसा जितिन् । तर यो सबै एक छल सावित भयो र बिवाहको केही दिनपछि दुलहीले दुलहाको परिवारलाई निन्द्राको औषधि खुवाएर गहना र पैसा लिएर भागेकाे भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ ।
उजुरी लिएर ती युवक प्रहरी चौकी पुगेपछि अहिले प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ । ती युवकले प्रहरीमा दिएको बयान अनुसार उनले आफ्नी आमाको अप्रेशनका लागि ७० हजार जम्मा गरेका थिए । साथै उनले केही गहना पनि बनाएका थिए । तर दुलहीले सबै लुटेर लगिन् । अहिले उनको परिवार पीडामा छ ।
उनले तीन महिना पहिले ती युवतीसँग बिवाह गरेका थिए । उनी दुलही फिर्ता आउन् भन्ने चाहन्छन् । या त अदालतमा डिभोर्स दिनुपर्ने उनको भनाइ छ । उनको परिवारको निकै ठुलो बदनामी भइरहेको छ । समाजले नकारात्मक टिप्पणी गरिरहेको छ ।






