पाँचथर । पाँचथर जिल्ला अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ । तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका अनुसार बालिकालाई उपचारका लागि बुधबार बिहान नै अस्पतालमा ल्याइएको थियो ।
ज्वरो आएर उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको छ । आक्रमणका क्रममा अस्पतालमा तोडफोड भएको प्रहरीले जनाएको छ । मृतक बालिकाका आफन्तले उपचारका विषयमा छानबिन गर्न माग गरेका छन् ।
उनीहरुले उपचारका क्रममा लापरबाही भएको आरोप लगाउँदै छानबिनको माग गरेका हुन् । बालिकाको मृत्युपछि अस्पताल प्रशासन र आफन्तबीच छलफल चलिरहेको समयमा अस्पतालमा आक्रमण भएको थियो । अस्पतालमा आक्रमण भएपछि ठूलो मात्रामा प्रहरी परिचालन भएका थिए ।
अस्पतालका एक कर्मचारीका अनुसार बालिकाको मृत्युपछि आफन्त, अस्पताल र जिल्ला प्रशासनसँग समेत वार्ता भएको छ । तर वार्ता निष्कर्षमा पुग्न नसकेको बताइएको छ । प्रशासनले छानबिन समिति बनाएर ७ दिनभित्र प्रतिवेदन निकाल्ने र सोही आधारमा क्षतिपूर्ति र कारबाही गर्ने प्रस्ताव राख्दा समेत वार्ता नमिलेको बताइएको छ ।






