काठमाडौं । अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ ।
आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज) लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुबेका छन् ।
बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुबानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ ।
साथै ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ ।






