एजेन्सी । राजस्थानमा एक १७ वर्षीय युवकले बिवाहको दुई महिनापछि १ लाख ८० हजारमा आफ्नी २४ वर्षीया श्रीमती बेचेर स्मार्टफोन किनेको खुलेको छ । भारतीय सञ्चार माध्यमका अनुसार ओडिशाको बोलांगीरका ती युवकले आफ्नी श्रीमती एक ५५ वर्षीय पुरुषलाई बेचेका हुन् ।
बेलपाडफ प्रहरी चौकी इन्चार्ज बुलु मुण्डाका अनुसार ती नाबालिग किशोर सामाजिक सञ्जाल मार्फत् ती युवतीको सम्पर्कमा आए र दुवै एकअर्कासँग प्रेम गर्न थाले । प्रेमपश्चात दुवैको रितिरिवाज अनुसार बिवाह भयो ।
बिवाहको दुई महिनापछि किशोरले आर्थिक समस्या आएको बताउँदै श्रीमतीलाई आफूसँगै रायपुर जानका लागि ईँट्टाभट्टामा काम गर्ने र सँगै कमाउने बताउँदै राजस्थानको एक गाउँमा गए ।
तर नयाँ नोकरी पाएपछि ती युवकले आफ्नी श्रीमती नै बेचिदिए । श्रीमतीलाई बेचेर कमाएको पैसा उनले खानामा खर्च गरे, मोबाइल किने, उडाए । उनले आफ्ना आमा बुवालाई पनि ओडिशामा बोलाए र श्रीमती अरुसँग भागेको बताए । युवतीको परिवारले उनको कुरालाई विश्वास गरेनन्, प्रहरी चौकी गएर उनीविरुद्ध उजुरी दिए । अहिले ती युवकलाई सुधार गृहमा राखिएको छ ।






