हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिने भएकी छन् । प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा दिनेछिन् ।
प्रदेशसभामा आज (बुधबार) मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुने भनिएकाे थियाे । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नका जवाफ दिने कार्यसूची छ । छलफलमा उठेका प्रश्नको जवाफ प्रदेशसभामा दिने र लगत्तै राजीनामा समेत दिने मुख्यमन्त्री शाक्यकाे तयारी छ ।
एमाले विभाजनको डिलमा रहेका बेला शाक्य मुख्यमन्त्री बनेकी थिइन् । तर, एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादीले शाक्यलाई साथ नदिएपछि उनी अल्पमतमा परेकी हुन् ।
बागमतीमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकार चलाउने सहमति गरिसकेका छन् । जस अननुसार मुख्यमन्त्रीमा एकीकृत समाजवादी बागमती प्रदेशको संसदीय दलको नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरिएकाे छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनले शाक्यलाई विश्वासको मत दिने छैन ।
बागमतीमा सभामुखसहित १०९ सांसद छन् । शाक्यले विश्वासको मत पाउन ५५ मत ल्याउनु पर्ने भए पनि एमालेसँग ४३ मत मात्र छ । कांग्रेसको २२, नेकपा माओवादीको २३ र एकीकृत समाजवादीको १३ मत छ । यसैगरी, विवेकशील साझाको ३, नेमकिपा २, राप्रपा २ र स्वतन्त्र सांसदको १ मत छ ।






