विराटनगर । नगरपालिकाकाे हिसाब खाेज्दा एक वडाध्यक्ष बैठकबाट बाहिरिनु परेकाे छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले पथरीशनिश्चरे-४ का वडाध्यक्ष गोबिन्दबहादुर भण्डारीलाई बैठक कक्षबाट बाहिर निकालेका हुन् ।
सोमबार वार्षिक समीक्षा गोष्ठीमा वडाध्यक्ष भण्डारीले पालिकामा ब्यापक आर्थिक अनियमितता भएको जवाफ मागेका थिए । उनले इन्धनका लागि छुट्याएको ४२ लाख, सवारी मर्मतका लागि छुट्याएको ३० लाख र फर्निचरका लागि छुट्याएको ५० लाखको हिसाब देखाएर मात्रै बैठक अघि बढाउन माग गरेपछि मेयर दिलिपकुमार राईले उनलाई नगरप्रहरी लगाएर बैठक बाहिर निकालेका हुन् ।
दुई जना नगरप्रहरीले उनलाई निकालेपछि मात्रै छलफल सुरु भएको थियो । नगर प्रहरीले आफूमाथि हातपात गरेकाे वडाध्यक्ष भण्डारीकाे आराेप छ । ‘पालिका भित्र अनियमितता भयो, हिसाब देखाउल भन्दा नगरप्रहरी लगाएर मलाई निकाले । मेयर र नगरप्रहरीले अभद्र व्यवहार गरे,’ भण्डारीले भने ।
उनले इलाका प्रहरी कार्यालय पथरीमा उजुरी पनि दिएका छन् । पालिकामा अझै अनियमितता भइरहेको उनको गुनासो छ ।




