एजेन्सी । पुरातत्वविदहरूले इजिप्टमा ४५ सय वर्ष पुरानो सूर्य मन्दिर फेला पारेका छन् । खोजकर्ताहरूको टोलीले यो मन्दिरका अवशेषहरू कायरोभन्दा १२ माइल पर रहेको अर्को मन्दिरमुनि फेला पारेका हुन् ।
सिएनएनका अनुसार यो खोज मिसामिलानो नुज्जुलोको नेतृत्वमा भएको हो । सन् १८९८ मा केही पुरातत्वविदहरूले न्युसेरा राजाले बनाएको सूर्य मन्दिर फेला पारेका थिए। न्युसेराले इजिप्टमा इसापूर्व २४०० देखि २३७० सम्म शासन गरेका थिए ।
त्यही मन्दिरमुनि अर्को मन्दिर पनि रहेको अहिले पत्ता लागेको हो । त्यसैले अध्येताहरूले एक मन्दिरमाथि अर्को मन्दिर बनेको अनुमान गरेका छन् । उनीहरूले फेला पारेका अवशेषहरूमा राजा न्युसेराभन्दा अगाडि शासन गरेका राजाहरूको नाम पनि देखिएको सिएनएनले जनाएको छ। ऐतिहासिक प्रमाणहरूले त्यस क्षेत्रमा ६ वटा यस्ता सूर्य मन्दिर बनेको देखाएका छन् । तीमध्ये अहिलेसम्म दुई वटा उत्खनन गरिएको अध्येता नुज्जुलोले बताएका छन् ।
यी उत्खननबाट यस्ता सूर्य मन्दिरहरू अबु घरब क्षेत्र वरिपरि निर्माण भएको देखिन्छ । न्युसेरा राजाको सूर्य मन्दिरको बनावट हेर्दा त्यसको संरचना माटोका इँटाले बनेको भवनसँग मेल खान्छ । तर यसको आकार ठूलो र यसमा माटोको सट्टा ढुंगाको इँटा प्रयोग गरिएको नुज्जुलोले बताउँछन् । उनका अनुसार ढुंगाको प्रयोग राजा न्युसेराको पालामा भएको होइन ।




