आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले आज अर्थात् मंसिर १ गतेदेखि लागू हुनेगरी विद्युत महशुलदर घटाएको हो ।
आयोगले १४५० औँ बैठकमार्फत् २०७८ मंसिरदेखिको विद्युत खपत र २०७८ पौस महिनादेखिको बिलिङमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरेको हो । जसअनुसार सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००,१२५ र १५० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, सिङ्गल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पिएर १५ एम्पियर, ३० एम्पियर र ६० एम्पिएरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुल दरमा २५ ले कटौती गरी क्रमशः १५०,१७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ । विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै लाग्ने निर्णय गरेको छ ।
सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कको हकमा साविकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रतियुनिट ९.५० कायम गरिएको छ । सिङ्गल फेजबाट आपूर्ति लिई मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाई प्रति युनिट ११ रुपैयाँ कायम गरिएको छ ।




