सर्लाही । सर्लाहीको विकट चुरेभेगमा पर्ने नारायण खोलामा यातायात अवरुद्ध भएको छ । बिहिबार बिहान भएको भारी वर्षापछि बाढी आएर खोलाको बाटो बिगारेका कारण लालबन्दी बजारदेखि जिल्लाकै कर्णाली भनेर चिनिने नारायण खोलासम्म चल्ने यातायातका साधन ठप्प भएको हो ।
बाढीले तत्कालै सवारी साधन सञ्चालन हुन नसक्ने गरी खोलाको बाटो भताभुङ्ग पारेको स्थानीयवासी बताउँछन् । नारायण खोलामा अब बर्खायाम भरी यातायात सञ्चालन हुने अवस्था नरहेको स्थानीय युवा रोशन दोङले जानकारी दिनुभयो ।
लालबन्दी नगरपालिकाको वडा नं १४ मा पर्ने नारायण खोलामा हिउँद महिनाभर खोलाको बगरबाट यातायातका साधन सञ्चालन हुने गरेका छ । बर्खा लागेपछि भने त्यहाँ कुनै पनि सवारी साधन सञ्चालन हुँदैनन् । स्थानीयहरुलाई अब बर्खायाम भरी खाद्यान्न खरिद गर्न वा औषधोपचारका लागि लालबन्दी बजार आउन पत्थरकोटसम्म पैदल हिँड्नु पर्ने बाध्यता छ ।
सिन्धुलीको सीमा नजिकै पर्ने नारायण खोलाको कामिटार, डाइनी शिर, मगने खोला, लखन्ती शिर र तोरीबारीका स्थानीयलाई गाउँदेखि पत्थरकोटसम्म पैदल हिँडेर आउन चारदेखि पाँच घन्टासम्म लाग्ने गरेको छ ।
लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनाम सिं घिसिङले लालबन्दी बजारबाट नारायण खोला हुँदै सिन्धुलीको मरिणसम्म पुग्ने बसहरु खोलामा बाढी आएपछि पूर्णरुपमा बन्द भएको बताउनु भयो ।
बस व्यवसायी समेत रहेका वडाध्यक्ष घिसिङले बाढी आएर बस गुड्नै नसक्ने गरी खोलाको बाटो सबै बिगारेको बताउनु भयो । लालबन्दी बजारबाट नारायण खोला हुँदै सिन्धुलीको मरिण गाउँपालिका स्थित कपिलाकोट, हरिहरपुरगढी गाउँपालिकाको महेन्द्र झ्याडी र बरुणशिरसम्म चार वटा बस सञ्चालन हुँदै आएका थिए ।
खोलाको बगरबाहेक चुरेका निकै ठूलठूला पहाड मात्रै रहेकाले नारायण खोलासम्म सडक पु¥याउन नसकिएको यहाँका जनप्रतिनिधिले बताउँदै आएका छन् ।




