रौतहट । रौतहटको मौलापुर बजारमा एउटा जङ्गली बाँदरले आतंक मच्चाएपछि स्थानीयवासी त्रसित बनेका छन् । बस्ती, पसल हुँदै अस्पताल परिसरमै पुगेर मानिसमाथि आक्रमण गर्न थालेपछि बजार क्षेत्रमा त्रास फैलिएको हो । मंगलबारदेखि बुधबार बिहानसम्म बाँदरको आक्रमणबाट करिब १५ जना घाइते भइसकेका छन् ।
मौलापुर बजारस्थित स्मार्ट चोक आसपास केन्द्रित बाँदरको गतिविधि अहिले स्थानीयका लागि ठूलो चुनौती बनेको छ । स्थानीयका अनुसार बाँदर घर तथा पसलभित्र प्रवेश गर्ने र भेटिएका मानिसमाथि अचानक आक्रमण गर्ने गरेको छ ।
बाँदरको आतंकबाट मौलापुर प्राथमिक स्वास्थ्य केन्द्रसमेत अछुतो रहन सकेको छैन । अस्पतालको प्राङ्गणमै पुगेर बाँदरले आक्रमण गर्न थालेपछि स्वास्थ्यकर्मी तथा कर्मचारीलाई नियमित कामकाज गर्नसमेत कठिनाइ भइरहेको छ ।
अस्पतालजस्तो संवेदनशील स्थानमै असुरक्षा बढेपछि स्थानीयवासीले तत्काल नियन्त्रणको पहल गर्न माग गरेका छन् । घटनाबारे जानकारी दिँदै इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रहरी निरीक्षक भरत केसीले प्रहरीसँग बाँदर नियन्त्रणमा लिन आवश्यक उपकरण नभएको बताए ।
उनका अनुसार बाँदरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय रौतहटसँग सहयोग माग गरिएको छ । बाँदरको आक्रमणबाट थप मानिस घाइते हुन सक्ने जोखिम बढ्दै गएपछि यसको नियन्त्रण कसले र कसरी गर्ने भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ ।
स्थानीयवासीले मौलापुर नगरपालिका, प्रहरी प्रशासन र वन कार्यालयबीच समन्वय गरी तत्काल विशेषज्ञ टोली परिचालन गर्न माग गरेका छन् । समयमै नियन्त्रणको प्रयास नगरिए बजार क्षेत्रका सर्वसाधारण तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी थप जोखिममा पर्न सक्ने उनीहरूको चिन्ता छ ।




