काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा आजदेखि एक महिना बिदा दिइएको छ ।
उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्नुहुँदै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा आजदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए ।
विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन–पाठन बन्द रहने व्यवस्था भए अनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेण्डर बमोजिम वर्षे बिदा दिइएको हो ।
विद्यालयमा पठन पाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्र अनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदा भरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ ।
यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षा सम्बन्धी गतिविधि लगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाएको छ ।




