बाल्यकालमा तिहार भनेकै धेउसी, भैलो खेल्ने हो कि जस्तो लाग्थ्यो । दिउँसो गाईपूजा गरिसकेपछि दिदीबहिनीहरू भैलो खेल्ने तयारी सुरु गर्नु हुन्थ्यो । साँझमा लक्ष्मीपूजा सकेपछि दिदीबहिनी हुल बाधेर भैलो खेल्न निस्किनु हुन्थ्यो म पनि त्यहि भित्र मिसिन्थे । पहिलो दिन प्रत्येक घरमा भैलीनी भैलीनी भन्दै वित्दथ्यो ।
दोस्रो दिन धेउसी खेल्ने हुँदा भत्याउने जिम्मेवारी सधै काधमा आउथ्यो । ४/५ दिन अगाडी देखि नै कसरी भत्याउने भनेर कापीको पानामा लेखेको कागज बोकेर हिड्दै भत्याउथे । फेरि भैलो खेलेकै घरमा दोहोर्याएरै धेउसीले भन्दै पनि पुगिन्थ्यो । क्या सानका साथ भनिन्थ्यो, हामीलाई के को डर छ : धेउसीले, राजु दाईको घर छ, धेउसीले ।
प्रत्येक घर दैलोमा पुग्दा धेउसे आए भन्दै खुब सम्मान पनि हुन्थ्यो । कोहि कोहि घरमुली चाहि १ घण्टा भट्याउँदा पनि बाहिर ननिस्केपछि घर भित्रै पट्का पट्काएर कुदिन्थ्यो । हामी धनी होस् या गरिब, सबैको घरमा धेउसी भैलो खेल्न जान्थौं । जुठो, सुतक परेका घरमा खेलिन्थ्यो ।
धेउसीमा नेतृत्व गर्ने मुख्य भूमिका पाउने हुँदा प्रत्येक घरमा पुग्दा धेउसे तपाईंको घरमा आयौ भन्दै सुरु गरिन्थ्यो । ए रातो माटो : धेउसीरे, चिप्लो बाटो : धेउसीरे, लड्दै पड्दै : धेउसीरे, यो बडाका घरमा : धेउसीरे, आइपुगेका छौं : धेउसीरे, जो रिसराग : धेउसीरे, माफ गरी पाउ है : धेउसीरे भनेर सुरु हुन्थ्यो ।
आफ्नो धेउसे समूहमा भएका साथीहरूको संख्याको परिचय दिन भट्ट्याउँदा ए केराको थम्मा : धेउसीरे, ७ भाइबहिनी जम्मा : धेउसीरे भनिन्थ्यो । एक घरमा कम्तीमा १५ मिनेटदेखि एक घन्टासम्म खेलिन्थ्यो ।
भट्याउँदा सबै घर गाउँटोल भ्याउनुपर्छ भन्थ्यौं । यहाँ मात्र हैन : धेउसीरे, १४ अंचल : धेउसीरे, ७५ जिल्ला (अहिले ७७ भएको छ) : धेउसीरे, पुग्नै पर्छ : धेउसीरे भन्दै दान पाएपछि धेउसी छोट्याउथ्यौं । दान पाएर खुसी भएपछि आशिक दिइन्थ्यो । यसै घरका : धेउसीरे, लाला बाला : धेउसीरे, सलसली बढुन् : धेउसीरे, बूढापाका : धेउसीरे, वरपीपल तपे झै : धेउसीरे, तपिमा रहुन भन्दै सुस्वास्थ्यको कामना गरिन्थ्यो ।
आशिकै दिउ कि : धेउसीरे, के भनी दिउ : धेउसीरे, यसै घरमा : धेउसीरे, माटो छुँदा : धेउसीरे, अन्न हओस : धेउसीरे, ढुंगा छुदा : धेउसीरे, सुनचाँदी हओस : धेउसीरे, यो साल आउँदा : धेउसीरे, खपडाको छाना : धेउसीरे, अर्को साल आउदा : धेउसीरे, सुनकै हओस : धेउसीरे भन्दै समृद्धिको कामना गरिन्थ्यो ।
अन्त्यमा लेकको माने : धेउसीरे, औलको माने : धेउसीरे, अर्को घर जाने : धेउसीरे भन्दै बिदा मागिन्थ्यो । घर धनीले दिनुभएको सेलरोटी, ल्याएको अनर्शा खाँदै धान चामल झोलामा हालेर अल्झिदै, लड्दै, उठ्दै कुदिन्थ्यो । यसरी तिहारमा स्वतन्त्रता, स्वच्छन्दता, मौलिकताको अपार आनन्द थियो ।
रातभरि दिनभरि धेउसी भैलो खेलिन्थ्यो । बहिनीले लगाइदिने सप्तरङी टीका, सयपत्री फूलको माला, मखामली फूलको माला लगाइथ्यो । कहिले काहि मालाले चिलायो भन्दै झगडा पनि गथ्यौं । गोजीमा नरिवल मिस्री चक्लेट बोकिन्थ्यो । मन लाग्दा झिकेर खाइन्थ्यो । टिकाको दिन फेरि सबै मिलेर धेउसी खेलिन्थ्यो । धेउसीको पैसा सबै मिलेर बाडिन्थ्यो । धान चामल पनि हुने हुँदा एकदिन पिकनिक जानुपर्छ भनेर धान काटेकै खेतमा गएर धेरै पटक रमाइलो गरिन्थ्यो ।
तर, अहिले समय फेरिएछ । बाल्यकालमा खेलेको धेउसी भैलो अहिले पनि याद आउँछ तर नखेलेको पनि धेरै समय भइसकेको छ । धेउसी खेल्ने साथीभाइ, दिदीबहिनीमा सदैव अविस्मरणीय माया र अटुट झझल्को छ । सबैका आ-आफ्ना सम्झनाहरु होलान्, तिहारको सुरुवात भएसँगै सबै जनालाई माता लक्ष्मीको कृपा होस्, शुभकामना ।




