बिहानी झिसमिसे थियो
घासिले उपदेश दियो
केही गरि नाम कमाउने
हसिया छोडि कलम समाउने
झमक्क साँँझ पर्यो
चराचुरुङ्गी गुँँड पस्ये
बाख्रापाठा खोर पसे
खेतालाहरू घर फर्किए
दियो बाल्ने बेला
हजुरआमाको रामायण पाठ गर्ने बेला
हाम्रो रामायण सुन्ने अति व्यस्त
तथा अभ्यस्त समय
सधैं पर्ये झैँ
यसैगरी पर्थ्यो गाउँमा साँझ
धूप-दीपले सुगन्धमय हुन्थ्ये गाउँका
प्रत्येक घर, बाटा र गोरेटा
शङ्खध्वनिको तरङ्गले भाग्ने गर्थे
निशाचर पिशाचहरू
सारा वातावरण रामायणको
सोरले सङ्गीतमय हुन्थ्यो
हिजोआज साँझ ढोकादेखि भित्र पस्दैँन
बिहान अबेरसम्म नब्युँझिने बैँस
साँझमा फुत्त बाहिर निस्किन्छ
अनि सक्रिय हुन्छ
कुनै सुनसान सडकको कुनामा
पार्कमा अथवा गुमनाम गल्लीमा
अभिन्न अवस्थामा
कलिलो साँझमा
समयकालीन समाज उत्रिन्छ
सडकको बीचौँ बीच
कुनै मदिराको प्याला भई
प्याट्ट फुट्न तत्पर छ स्वयं
वाहनको तीव्र वेग भई
उडेको छ हिजोआजको साँझ
फरक यति छ
हिजोको अनपढ, अनाक्षरिक समाज
पिँढीमा बसी साँझमा
रामायण फलाक्ने गर्थ्यो
आज ‘फोर जी, फाइभ जी´मा
भानुभक्तलाई खोज्दै भौँतारिएको छ
देवकोटाले गोसाइँगाउँमा देखे झैँ
मैले पनि सुनेको छु
भानुभक्तको रामायण
अतीतका साँझहरूमा
हजुरआमाको मुखबाट
स्वच्छन्द समाजका रमाइला
साँझहरू बिताएको छु
अस्ति भर्खरै साँझपख निम्तो पाएँ
आदिकविको २१3 औँ जयन्तीमा रामायण पाठको,
सुनौलो अवसर कसले गुमाउने !
निम्तो पाइसक्दा
ठ्याक्कै मोबाइल खोलेर
सरु गुरागाईंलाई सर्च गरेँ
आ: आ:__ ! जाबो नेट
“कति घुम्नु ! तेरो लै-लैमा
भो घुम्दिनँ” भन्दै
भित्र पसी सरक्क
रातो तुलले बेरेको रामायण निकालेँ
देउताकोठामा दियो बलिरहेको थियो
त्यसैको भरमा म रामायण पाठ गर्न थाल्येँ
परसम्म गुञ्जियो एउटा छन्दोबद्ध धुन
“एक दिन् नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनि”।






