हरेक वर्ष पौष २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नेपालको इतिहास, राष्ट्रनिर्माण र राष्ट्रिय चेतनासँग गहिरो रूपमा गाँसिएको दिवस हो ।
आधुनिक नेपालको एकीकरणकर्ता श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाहले राज्य सञ्चालन, कूटनीति, सुरक्षा, अर्थतन्त्र, न्याय र राष्ट्रिय एकताका विषयमा दिएका दिव्य उपदेशहरू आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक छन् ।
उनका उपदेश केवल तत्कालीन शासनका लागि मात्र नभई, भविष्यका पुस्ताका लागि राष्ट्र सञ्चालनको दिगो दर्शन हुन् । ती उपदेशहरूको सार यस प्रकार छ;
१. नेपाल दुई ढुंगाबीचको तरुल हो
नेपाल उत्तरतर्फ चीन र दक्षिणतर्फ भारतजस्ता शक्तिशाली राष्ट्रबीच अवस्थित भएकाले सन्तुलित, विवेकपूर्ण र स्वतन्त्र कूटनीति अपनाउँदै राष्ट्रिय सार्वभौमसत्ता जोगाउनुपर्छ ।
२. राष्ट्रिय एकता कायम राख्नुपर्छ
जात, वर्ग, क्षेत्र वा व्यक्तिगत स्वार्थका कारण राष्ट्रमा फूट उत्पन्न हुनु विनाशको कारण बन्छ । एकता नै राष्ट्रको सबैभन्दा ठूलो शक्ति हो ।
३. आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै विदेशी वस्तुमा निर्भरता घटाउनु राष्ट्रको दीर्घकालीन समृद्धिको आधार हो ।
४. बलियो सेना र सुरक्षा व्यवस्था आवश्यक छ
राष्ट्रको रक्षा गर्न सक्षम सेना, किल्ला र आवश्यक हतियार सधैँ तयार अवस्थामा हुनुपर्छ ।
५. विदेशी हस्तक्षेपबाट देश जोगाउनुपर्छ
विदेशी व्यापारी, दलाल र धर्म प्रचारकको अनियन्त्रित प्रवेशले राष्ट्रलाई कमजोर बनाउँछ, त्यसप्रति सतर्क रहनुपर्छ ।
६. राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नुपर्छ
देशको धन, जमिन र प्राकृतिक स्रोत साधन विदेशी हातमा जान नदिनु राज्यको प्रमुख दायित्व हो ।
७. धर्म, संस्कृति र परम्पराको रक्षा गर्नुपर्छ
सनातन धर्म, नेपाली संस्कृति र सामाजिक मूल्यहरूको संरक्षणबिना राष्ट्रको मौलिक पहिचान रहँदैन ।
८. घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्
योग्य, इमानदार र निष्ठावान कर्मचारी नियुक्त गरी भ्रष्टाचारमुक्त शासन व्यवस्था कायम गर्नुपर्छ ।
९. जनताको हितलाई सर्वोपरि राख्नुपर्छ
राज्य जनताको सेवक हो । जनसुख, न्याय र समानता नै शासनको मूल उद्देश्य हुनुपर्छ ।
१०. निष्पक्ष र छिटो न्याय दिनुपर्छ
न्याय ढिलो भयो भने त्यो अन्याय सरह हुन्छ । सबै नागरिकका लागि समान र शीघ्र न्याय आवश्यक छ ।
११. भौगोलिक अवस्थाको सदुपयोग गर्नुपर्छ
पहाड, डाँडा र हिमाललाई प्राकृतिक सुरक्षा कवचका रूपमा प्रयोग गर्न सकिन्छ ।
१२. आन्तरिक कलहबाट बच्नुपर्छ
भित्री झगडा, षड्यन्त्र र गुटबन्दी बाहिरी शत्रुभन्दा बढी खतरनाक हुन्छन् ।
१३. कूटनीतिमा सतर्कता अपनाउनुपर्छ
सबैसँग मित्रता राख्ने तर कसैसँग पनि वैर नगर्ने नीति नै नेपालको दीर्घकालीन हितमा हुन्छ ।
दिव्य उपदेशको प्रकाशन इतिहास
श्री ५ पृथ्वीनारायण शाहका यी दिव्य उपदेशहरू वि.सं. १९९२ सालमा भारतको दार्जिलिङबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका तत्कालीन प्रमुख स्व. सूर्यविक्रम ज्ञवालीद्वारा पहिलो पटक संकलन तथा प्रकाशन गरिएको थियो । त्यसपछि वि.सं. २००९ सालमा इतिहास शिरोमणि बाबुराम आचार्य र योगी नरहरिनाथले पुन: सम्पादन गरी प्रकाशन गर्नुभयो ।
वि.सं. २०१० सालमा इतिहासकार पण्डित नयराज पन्तले तेस्रो पटक प्रकाशन गर्नुभयो भने, वि.सं. २०२५ सालमा संस्कृत व्याख्यासहित विस्तृत ग्रन्थका रूपमा नयराज पन्तले नै यसलाई स्थायी दस्तावेजको रूप दिनुभयो । इतिहासका धुरन्धर जानकारहरूका अनुसार, यी उपदेशहरू नेपाल राष्ट्रको मेरुदण्ड हुन्- जसले आज पनि हाम्रो राजनीति, कूटनीति र राष्ट्रिय सोचलाई मार्गदर्शन गरिरहेका छन् ।






