आमा, तिमी नै थियौ मेरो स्वर्ग,
तिमी नै थियौ मेरो प्राण प्यारी ।
तिमी नै मेरो जीवनको सहारा,
तिमी नै मेरो मायाको पुजारी ।
तिम्रो त्यो ममताको मोल म कसरी तिरौँला ?
आँसु र मर्मको गरुङ्गो भारी कति दिन बोकौँला ?
जीवनको सत्यता सकिएझैँ लाग्छ तिमी नहुँदा,
कसरी विश्वास गरू खै तिमी नभएको सत्यता ?
जब जब घरमा बस्छु, तिम्रो यादले सताउँछ,
पीडामाथि पीडा थपिँदा मन भतभताउँछ ।
कुनै दूर क्षितिजमा बसेर हेर्दै होला है मलाई,
कसलाई भनूँ, तिमी नै सहारा थियौ मलाई ।
म रोएको देखेर तिमी पनि रुन्छौ होला,
आउन मिल्ने भए मलाई अँगालो हाल्थ्यौ होला ।
भन्थ्यौ होला- “म कहीँ गएको छैन,
सधैँ तेरो साथमा छु, सधैँ तेरो उन्नतिमा छु ।”
अब त मसँग बाँकी छ
तिम्रो मायाको सम्झना मात्र,
आमा, मेरी प्यारी आमा,
तिमी सधैँ मेरो मनमा छौ ।
अझै पनि त्यो कालो दिन ताजा छ
मिति २०८२ साल, असोज १२ गते ।
पहिलो पटक टेलिभिजनमा बोल्दै थिए,
त्यही दिन सबैभन्दा ठूलो पीडा भोगे ।
अरूका दु:खका समाचार बनाउने म,
त्यो दिन आफैँ दु:खको पात्र बन्न पुगेँ ।
आज पनि लाग्छ- दैव किन यति निष्ठुर हुन्छ ?
तर जीवनले सिकाएका पाठहरू अंगाल्दैछु ।
दु:खको पोखरी कहिल्यै नतरेको म,
अचानक पीडाको महासागरमा डुब्दा
आफूलाई कसरी सम्हालें थाहा नै भएन ।
त्यस कठिन समयमा मेरा दिदीहरू आधार बने ।
आमाको अस्तित्व उनको अन्त्यसँगै समाप्त हुँदैन,
बरु त्यही अन्त्यबाट नयाँ रूपमा सुरु हुन्छ ।
मेरो हरेक पाइला, हरेक सपना
आमाको अस्तित्वले नै उज्यालो बनाउँछ ।
आमालाई शब्दमा सीमित गर्न सकिँदैन ।
उनी त हरपल मेरो साथमा रहेको अनुभूति हुन्छ ।
अब म केवल एउटा मान्छे भएर होइन,
मायाको पहिचान बोकेर संसारमा चिनिन चाहन्छु ।
आमा, मेरी प्यारी आमा,
तिमी सधैँ मेरो मनमा छौ,
तिमीले सिकाएको मायाको भाव
अरूको जीवनमा पनि छर्न सकूँ ।






