रहर छैन,
तिम्रा भुलरूको बाँसुरी बजाउँदै
उत्सव मनाउने रहर छैन
नमिठा कुराहरू मनमा सजाउँदै
तिम्रो तस्विरमा हार चढाउने
तिम्रा नाउँका अघिपछि जोडिएका विशेषणलाई
विशेष रूपले हेर्ने पनि एकरत्ति इच्छा छैन
छैन जान्ने, बुझ्ने इच्छा, त्यो जटिल अङ्कलाई
बस, मलाई त तिमीलाई बुझ्नु छ
बदनाम आँखाहरूमा हराउँदै तिमीमा एकाकार
हुने रहर छ
तिम्रो गीतमा मग्न भई,
सुधा पान गर्दै
तिमीमै विलीन हुने मन छ
मुक्तिको बाटो खोज्दै हिँड्ने स्वच्छन्द कवि तिमी
प्रगतिको गङ्गा बगाउने हौ बिहानका किरण तिमी
भो! पर्दैन दिनु कसैले स्पष्टीकरण तिम्रो बारे
भन्नुपर्दैन त्यो कहाली लाग्दो इतिहास
तिमीभित्रको मान्छेले बताएको छ
तिम्रो उद्यमशीलताको कुरा
यो देशको माटाले भनेको छ
यो देशको ढुङ्गाले भनेको छ
अभावै अभावमा बाँचेर पनि
ओठमा सम्पूर्णताको हाँसो छर्दै
नयाँ इतिहास रचेको कुरा
जान्ने रहर पनि छैन,
तिमी प्रवासिएको कुरा
फेरि स्वदेश फर्केर कविताको खेती गरेको कुरा
बस, यो मनलाई तिम्रो हुने रहर छ
सम्झाना मात्रै होइन मलाई त तिम्रो
भौतिक उपस्तिथिलाई बुझ्न् मन छ
मीराझैँ तिम्रो उपासना गर्ने रहर लाग्छ
तिमी भन्थ्यौ नि “म मरेको छैन” भनेर
हो, ठिकै भन्यौ,
यी जून र घाम साक्षी छन्
तिमी यहीँ छौ, यहीँ कहीँ छौ
यो हृदयदेखि त्यो हृदयसम्म
बस ! तिमी, तिमी नै छरिएका छौ




