तिम्रो नाउँ के हो ?
पुस्तक ।
कति सुन्दर नाउँ ।
पढाइ कतिसम्म हो ?
स्नातकोत्तर ।
हजुर के गर्नुहुन्छ ?
म चक् घोटेर खान्छु ।
हजुर… के भन्नुभो ?
ब्ल्याकबोर्डमा चक् पेन्सिल घोट्ने गर्या छु ।
ए, हजुर माष्टर ?
म शिक्षक हो ।
माष्टार त खासै केहीको पनि हैन ।
तिमीले मलाई फोन गरेर भन्नु है
म कस्तो लागें ।
तिमीलाई कुन चाहिँ धेर मन पर्यो-
म, कि मेरो पेशा- त्यो पनि भन्नु है ?
अरू कुरा फोनमै गरे पनि
यो चाहिँ अहिल्यै भनेर जान्छु-
कि
विद्यार्थी नानीहरूको भविष्य चिन्तनको व्यस्ततामा
आफ्नो भविष्यको परिपाट्य बिर्सेको हुन्छु । है ?
बाँडेर ज्ञान सकिँदैन,
तर- नानीहरूलाई शब्दका अर्थ बाँड्दा,
अंकहरूको जोड घटाउमा
कक्षामा अर्थ र सोचाइको अभाव नभए पनि
मेरो घरले अर्थको सङ्कट बाक्लै देख्छ ।
किनभने-
वस्तुहरू यथास्थानमै मन पर्छ मलाई ।
‘टीचर’का अक्षरहरू यताउति पारेर
‘चीटर’ बन्न रमाउँदिन म !
तिमीले सोधे- अरू कुरा फोनमै भनुँला,
तर-
कक्षामा ज्यामितिका जुक्तिहरू,
त्रिगोनोमेट्रीका प्रमाणित दर्शनहरू दृश्यावलोकनका बेला,
बिजगणितका शस्त्र सूत्र सुनाइरहेका बेला
फोन नगर्नु है- ल ।
निउक्लियसका वरिपरि घुमिरहेका
इलेक्ट्रानहरू समाउन खोजेका बेला,
दुइ दर्जन केराको दाम ठम्याउन खोजेको बेला
अथवा- अटेरी प्रिपोजिशानहरूलाई
यथास्थानमा उभ्याउन सङ्घर्ष गरिरहेको बेला
फोन नगर्नु मलाई ।
‘क’ लेख्ने हतारमा टुप्पो भाँचिएको पेन्सिल
कलिला हातहरूले तिखारिरहँदा
म पर्खिरहेको बेला,
अतिभूज र उन्नतिका बीचको कोणमा
म अल्मल्लिइ रहेको बेला
अथवा-
डान्टे र बिएट्रिसको कथा भन्दा भन्दै
एक्कासि ताजमहलको ढोका उघार्नपुगेका बेला पनि
प्लिज, फोन नगर्नु मलाई ।
मैले गणित पढाएको कुनै विद्यार्थी
पछि कोहि ठूलो कवि बनेको देखेर
कसैले राजनीति गरेको देखेर हताश भएका बेला,
अथवा राजनीति पढेका विद्यार्थीले
नेता भएर वाणिज्य गरेको देख्ता
म छक्क परेका बेला पनि फोन नगर्नु ।
देशका सम्पदा भएका विद्यार्थी धेरै छन् मेरा,
कोहि देश बनाउने बनेका छन,
त कोही देश बिगारिदिने अनि
कोही मानिस मार्ने त कोही मानिस बचाउने ।
त्यी मध्ये कुनै विद्यार्थीले कुनै दिन
‘सर, सन्चै हुनुहुन्छ ?’ भनेका बेला
फोन गर्नु मलाई ।
किनभने त्यसबेला म
संसारकै समृद्ध मान्छे भएको हुन्छु !
तिमीलाई पनि त्यो समृद्धिले पुग्छ भने
र-
ब्ल्याकबोर्डमा चक् घोट्दा निस्केजति मात्र खाएर
अघाउँछु जस्तो लाग्छ भने
फोन गर्नु मलाई….।




