किन पलायन हुँदैछन् विवेकशील माथहरू,
किन अन्योलग्रस्त छन् श्रृजनशील हातहरू,
किन चुन्दैनन् गौरवशाली वर्तमान,
किन बुन्दैनन् भविष्यको सपना !!
शान्तिका प्रतीक परेवाहरू किन उड्दैनन् यहाँ,
विकासका बसन्तहरू किन फुल्दैनन् यहाँ,
हाम्रा बस्तीहरू उजाड पार्ने अभियानमा,
जब आफ्नाले नै,
क्षणिक लाभको लोभमा,
स्वाभिमान गाल्छन्
धुरीमाथि खुनी बाज पाल्छन्,
तै पनि हामी भनौदाहरू
खिसिक्क हाँसेको देख्दा
मलाई डाँको छोडेर रुन मन लाग्छ !!
सम्झि सम्झि रुन मन लाग्छ !!
हाम्रा उर्जावान समय
त्यसै खेर गएको देख्दा
हाम्रा शौर्य र सान त्यसै मरेको देख्दा !!
फेरिपनि रुन मन लाग्छ !!
घर छोडेर पर हुँदा,
गाउँ तिरको क्षितिजमा कालो बादल मडारिएको देख्दा,
यो मन,
त्यसै त्यसै अतासिन्छ,
बाडी, खडेरी, भूईचालो, अकाल र अनिकालको त्रासले,
त्यसै त्यसै बतासिन्छ !!
फेरि,
एकधर्सो उज्यालो आकाश र,
एकरून्को सेतो बादल
जब
मेरो छेउमा आईपुग्छ,
मन किन यतिसाह्रो नया स्रिन्छ !! खै !!
देउरालीको बरपिपल र
भँञ्ज्याङ्गको लाँकुरी सम्झिएर,
अनायसै ,रुन मन लाग्छ !!
जब म आँगनको डिलमा बसेर,
मातृवात्सल्य झैं न्यानो पारिलो घाम ताप्छु,
मन त्यसै त्यसै पुलकित हुन्छ !!!
अतुलनीय गौरवगाथा, नभएको हो र हाम्रो ??
आँखाभरी हिमाल, पहाड र तराई समेट्दा,
प्राकृतिक सुरम्यता र विविधता आत्मसात् गर्दा
हाम्रा साधन, स्रोत र वैभव देख्दा,
कहाँ कम्जोर छौँ हामी,
कहाँ निरीह छौँ हामी !!!
नशा नशामा रगत उम्लिन्छ !!
तर,
जब फर्कन्छु मझेरी तिर…!!
उजाड, फुङ्ग केश छिरल्लिएकि,
पिडै पिडाले थलिएकि,
एकधरो फरियाले,
धन्न धन्न लाज बचाएकि,
लुछिएकि, लुटिएकि, निरीह आमालाई देख्छु !!
हेर्न सक्दिन,
केही गर्न पनि त सकिरहेको छैन,
त्यसैले
फेरि पनि रुन मन लाग्छ !!!
आफ्नै आश्रय स्थलमा नै,
मझेरी खन्ने डुकुरे मुसाहरू !!
पराईकै जुठोपुरोमा जीवन धान्नेहरू !!
लवस्तरा र जीउदा लासहरू !!
स्वदेशी खलनायक र विदेशीका दासहरू,
चोटा, कोठा र बुइगल अनि खोल्मा भरी
खुल्लम खुल्ला, छ्याप छ्याप्ति
खेत खलिहान, रछ्यान र जतासुकै
संक्रमण फैलाई रहेको देख्दा देख्दै
कानमा तेलहालेर मस्तसँग निदाउन सक्ने
म र म जस्ता हामीहरूमा
अलिकति आक्रोश, आवेग र स्वाभिमान,
शीतनिन्द्रामा परेको देख्दा,
मलाई फेरि पनि रुन मन लाग्छ !!!




