आज मेरो मन एकदमै चंचल भएको छ । धेरै पटक सोचे केहि नलेखु तर धार्मिक गुरुहरु नै एकदिन मात्र नभई लगातार झुटमा रमाउन थालेपछि लेख्न बाध्य बने । सवप्रथम धर्म के हो ? भन्ने कुरा पाखण्डपन गर्ने गुरुहरुलाई बुझाउन चाहन्छु ।
मेरो बुझाइमा धार्मिक हुन हामीले कुनै शिक्षा हासिल गर्नुपर्दैन । यो एउटा स्वाभाविक तरिकाले अभिव्यक्त गर्न सकिन्छ । धर्म भन्ने वितिक्कै हामीले असल काम, परोपकारी काम र सकारात्मक काम बुझ्नुपर्छ ।
सरल रुपमा धर्म भनेको अरुको उपकार गर्नु हो । कसैको भलाई गर्नु हो । कसैको उद्वार गर्नु हो । कसैको रक्षा गर्नु हो । कसैको संरक्षण गर्नु हो । जस्तो एक अनाथ बालक भोक, तिर्खाले ब्याकुल छ भने उसलाई भरपेट खाना दिनु धर्म हो ।
यसो भनिरहँदा धार्मिक गुरुहरुको प्रवृति देख्दा दु:ख लागेर आउँछ । अहिले जुन रुपमा झुटमा रमाउँदै अरुलाई दु:ख दिने प्रवृति मौलाएको छ, जसलाई हामी व्यक्तिको नियतका रुपमा लिन सक्छौं ।
धार्मिक गुरुहरुले अरुलाई झुट बोल्नु हुँदैन भन्दै ज्ञान दिनुपर्नेमा आफै त्यसैमा रमाइरहेका छन् । हामी आज अरुको दु:खमा रमाउने बानी परिसकेका छौं, जसलाई धर्मका अनुसार पनि पापको संज्ञा दिइएको छ, जुन कुरा हामी भुलेका छौं ।
मान्छेले झुट किन बोल्ने ? हल्काफुल्का लाग्ने यो प्रश्नले मान्छेको यस्तो अनौठो प्रवृत्ति देखाइदिन्छ, जुन उनीहरुले सधैं ढाकछोप गर्न चाहन्छन् । किनभने यस्तो प्रवृत्तिलाई मान्छेले ‘खराब’ भनी लाहाछाप लगाइसकेका छन् ।
पौराणिक शास्त्रदेखि ठूलाबडाको अर्ती उपदेशमा ‘झुट बोल्नु पाप हो’ भनिन्छ । कहिले आफूलाई अप्ठेरो परिस्थितिबाट बाहिर ल्याउन, कहिले अरुको मन बुझाउन, कहिले आफ्नो स्वार्थ पूरा गराउन, कहिले गाली गलौचबाट बच्न, कहिले अरुप्रति आफूलाई राम्रो देखाउन मान्छेले झुट बोल्छन् ।
अहिले यतिमा मात्र सिमित छैन मान्छे । कतिपयले अरुलाई अप्ठेरोमा पार्न, अरुको चरित्र हत्या गर्न मात्र नभई अरुलाई फसाउन पनि झुट बोलिरहेका हुन्छन् । भनिन्छ ‘सयौं झुट बोल्नुपर्छ एउटा झुट लुकाउन ।’ मान्छे झुटको गोल चक्करमा यसरी फस्छन् कि उसले निरन्तर झुट बोलिरहन्छ ।
हामीले बुझ्नु जरुरी छ कि व्यावहारिक जीवन जिउने क्रममा मान्छेले कतिपय गल्ती गर्छन् चाहे जानेर होस् या अन्जानमै । त्यसबेला उनीहरुले झुट बोल्नु पर्ने बाध्यतामा फस्छन् र यसरी एउटा झुट लुकाउन मान्छेले अर्को झुट बोल्छ जुन निरन्तर चलिरहन्छ ।
भनिन्छ, त्यो मान्छेसँग झुट कहिल्यै नबोल्नुस जसले तपाईको हरेक झुटमा पनि पुरै विश्वास गरेको हुन्छ । तर, समय यति परिवर्तन भइसक्यो कि साँचो बोले वरि परिका सबै रिसाउँछन् । भगवानले त मरेपछि तातो तेलमा हाल्छन् तर वरि परिकाले त अहिल्यै मार्छन् भन्दै मान्छे झुटमै रमाउन थालेका छन् ।
आजको समयमा झुटो बोल्नु बालकको गल्ती, प्रेमीको बाध्यता, युवकको प्रगति, नेताको उपलब्धि बनेको छ, त्यसैले बुद्धि नहुनेले साँचो बोल्नुपर्छ । बुद्धि हुनेले झुटो बोल्नुपर्छ, साँचो बोल्नेलाई मुर्ख र झुटो बोल्नेलाई बुद्धिमान भन्नुपर्छ ।




