कुनै अपराधीलाई दण्ड दिनु कानूनको काम हो भीडको होइन । जब अदालतको ठाउँमा भिडले न्याय दिन थाल्छ त्यो निकै दर्दनाक हुन्छ । लोकतन्त्रमा ‘जनअदालत’ र ‘भाटे कारबाही’को स्थान हुनु हुँदैन । विधिको शासनमा जनअदालत र भाटे कारबाही जस्ता कुरा हुनै सक्दैन । न्यायालय आममानिसको अन्तिम भरोसा हो र सधै रहिरहनु पर्छ ।
अदालतको फैसला कुर्दाकुर्दै जीवन गुमाउनेहरूका परिवार हुन् वा विवादास्पद फैसलाका कारण विक्षिप्त मानसिकताबाट हुने अपराधको जिम्मेवार हाम्रो समाज हो, यहाँको नेतृत्व हो ।
न्याय कुनै वर्ग, धर्म, पार्टी वा व्यक्ति विशेषको पक्ष वा विपक्षमा हुन थाल्यो भने नागरिकलाई अपराधीले न्याय पाएको र सत्य छिपाइएको अनुभूति हुन्छ । अदालतप्रति मानिसको विश्वास घट्छ । जसको दीर्घकालीन असर समाज र राज्यमा पर्छ र अन्तमा लोकतन्त्र कमजोर हुन्छ ।
हाम्रो समाजमा केहि वर्षयता कानुन हातमा लिने प्रवृत्ति बढ्दै गएको छ । भिडले आफैँ अघि सरेर कुनै पनि व्यक्तिमाथि न्याय अन्याय भन्दै फैसला सुनाउँछ । कोहि कसैलाई आरोप लाग्दैमा दोषी हुँदैन । आरोपितमाथि आधार प्रमाणका आधारमा न्यायालयले निर्णय दिने हो । भिडले आफैँ निर्णय सुनाउने वा दण्ड गर्न खोज्नु अपरिपक्वताको लक्षण हो ।
हाम्रो समाजमा कानुन हातमा लिँदा पनि कारबाही नभएका घटना छन् । विशेष गरी कुनै दल निकट व्यक्ति र कार्यकर्ता भए तिनलाई जसरी पनि उन्मुक्ति दिने प्रयास हुन्छ । यस्तो स्थितिमा न्याय मर्छ । समाजमा दण्डहीनता बढ्छ । समाजमा दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसले शान्ति र अमनचयन समाप्त पार्छ । यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न गम्भीर दण्ड एवम् सजाय हुनु आवश्यक छ ।
भिडले सिर्जना गरेका अफवाह दिन दुगुना र रात चौगुना फैलाउने माध्यम बनेका सामाजिक सञ्जाल । संवेदनशील विषय भद्रगोल पार्ने । ऐन कानुन विपरीत गएर बोल्ने, लेख्ने र प्रकाशन/प्रसारण गरेर समाज विभाजित पार्ने अनि पीडितलाई थप पीडा दिने कार्यहरु भइरहेका छन् ।
सामाजिक सञ्जाल, युट्युवजस्ता ‘प्लेटफर्म’ले मुद्दालाई उछालेर सके समाजलाई गलत दिशातिर मोड्ने, नसके कन्फ्युज बनाउने प्रयास गरेको छ । नाबालिका बलात्कारजस्तो संवेदनशील विषयमा बलात्कार आरोपितकै पक्षमा भिड जम्मा हुनुलाई पितृसत्ताको संरचनागत अवशेषका रूपमा भन्न सकिन्छ, यद्पी अन्तिममा आरोपीत निदोष सावित नै किन नहुन ।
मूल मुद्दाबाट विषयान्तर गर्न लागिरहेको भिडले सामाजको न्यायिक विवेकमाथि नै प्रश्न उठाउँछ । नाबालिका बलात्कारको विषयमा समेत सक्रिय हुने भिडले त समाजको न्यायिक चेतलाई नै किनारमा पुर्याएको छ । न्यायमूर्तिले दिने फैसला एक जनाका लागि मात्र लागु हुँदैन, यो कालान्तारसम्म नजिर बन्ने विषय हो । सबैले बुझ्नु आवश्यक छ ।




