एउटा भनाई छ, “सफलता अनुभवहरुबाट प्राप्त हुन्छ र अनुभव नराम्रा अनुभवहरुबाट ।” अर्थात सफल हुन अनुभवी हुनु जरुरी छ । अनुभवी हुन नराम्रा अनुभवहरुबाट गुज्रनु पर्दछ । मलाई यो भनाई यथार्थपरक लाग्छ । किनभने मैले पनि यस्तै भोगेको छु ।
बाआमाले सधैँ भन्नुहुन्थ्यो- ‘अब काम गर्नुपर्छ ?’ सधैँ झैँ मैले उहाँहरुलाई सुनिन । यसपालि पनि उहाँहरु सही सावित हुनुभयो । दु:खद यो भयो कि आज म हातमा प्रमाणपत्र बोकेर जागिरको खोजिमा यता उता कुदिरहेको छु ।
जागिरको खोजीमा जता जान्छु तपाईको अनुभव के छ भन्ने प्रश्न अगाडी आउँछ । मसँग भएको त त्यही विहान उठ्यो किताव कलम बोकेर कलेज गएर डिग्री पास गरेको प्रमाणपत्र बोक्नु बाहेक केहि रहेन । कतै अवसर पाइहाले भनेपनि अनुभवहिन भन्दै १५/२० हजार तलब दिन्छु भन्दै पन्छिन्छन् । सम्झन्छु, मैले विहान ३ बजेदेखि पढ्नुको अर्थ त प्रमाणपत्र भितामा झुन्ड्याउनु बाहेक केहि भएन ।
यस अवधीको सुखद पक्ष यो भयो कि जिवनका केहि नयाँ अनुभवहरु सिक्ने मौका पाएको छु । मान्छेहरुको स्वभावहरुको अध्ययन गर्ने मौका पाएको छु । बोली र व्यवहारमा भिन्नता चिन्न सक्ने अनुभव मैले पाएको छु ।
मानिसबाट जीवनमा केहि गल्ती हुन्छ । मबाट फेरि किताब कापी बोकेर पढ्नु गल्ती भयो तर यसबाट सिकेका अनुभव अहिलेका लागि डस्टविनमा फोहोर फालेझै भएपनि भविष्यमा अवश्य काम लाग्छ भन्दै रमाउँछु पनि ।
लाग्छ, ‘हरेक मान्छे आफ्नो जीवन सुखमय बनाउन चाहन्छ अनि आफू खुसी हुन चाहन्छ । यो खुसीको दौरानमा रहँदा केही कमी कमजोरीहरु अवश्य पनि आउने गर्छ । यो कमी कमजोहरुलाई पन्छाउँदै जानु हाम्रो कर्तव्य हो ।’ हो, यस्तै गल्ती मैले पनि गरेको हुँ ।
एकदिन साथीले सोध्यो- ‘अचेल तिमी के गर्दैछौं ?’
मैले भने- ‘पढिरहेको छु ।’
उसले फेरि मलाई सोध्यो- ‘पढेर के हुन्छ र ?’
झट्टै जवाफ आएन, चुप लागेर बस्न पनि सकिनँ र भने- ‘पढ्यौ भने अरुले तिमीलाई ठग्न सक्दैनन्, नयाँ सिपहरु सिक्न पाउँछौं ।’
एक छिन केही सोचेर उसले भन्यो- ‘तिमीलाई अरुले ठगेका छैनन् र ?’
मैले उसलाई हेरिरहेँ, न त झुठो बोल्न सकेँ न साँचो । आज म आफैले आफैलाई प्रश्न गरिरहेको छु । मैले पढेर के पाए ?
एकदिन बानेश्वरमा हिडिरहँदा गाउँको भाइलाई भेटे । होस्टलमा बसेको थियो भाई ।
मैले सोधे- ‘कस्तो भइरहेछ पढाई ?’
उसले भन्यो- ‘म त कलेज नै जान्न ।’
बाआमा घर परिवारबाट टाढा आएर होस्टलमा बसेको भाईको कुरा सुनेर छक्क परे म । यहाँ बसेर के गर्दैछन् भन्ने कौतुहलता मनमा आयो । उसलाई सोध्दा थाहा भयो- ‘उ त विहानै ५ बजे उठेर कोरियन भाषा सिक्न जाँदो रहेछ । अनि कहाँबाट कलेज जानु अनि पढ्नु !’
अहिले यो त सामान्य दृष्टान्त मात्रै हो । यहाँ अधिकांश युवा प्लस टु पास गरेपछि स्नातक पढ्नै मान्दैनन् । उनीहरु आखिर बाहिर जाने नै हो किन समय बर्बाद गर्ने भन्ने धारणा राख्छन् ।
एउटा मेधावी छात्रा जो एमबीएस अन्तिम सेमेष्टारमा अध्ययनरत थिइन, उनले ६ महिना मात्र बाँकी रहेको अध्ययन छाडेर अमेरिका तिर लागिन । अभिभावकले बाँकी अध्ययन पूरा गरेर जानका लागि अनुरोध गर्दा पनि उनले मानिनन् ।
विदेशी मोह यति बढेको छ कि कुरा गरि साध्य छैन । सकभर अमेरिका जाने । नभए अष्ट्रेलिया, बेलायत, जापान, कोरिया, युरोपियन देशहरु भएनी जानुपर्छ भन्ने मानसिकता विकास भएको छ नयाँ पुस्तामा ।
डिग्री पढेर पनि नेपालमा जागिरै नपाउने, पाएपनि अति न्यून वेतन, जसले आफ्नो व्यक्तिगत खर्च समेत धान्न नपुग्ने हुदाँ विदेशीनुको विकल्प नै देखिदैन । विदेश पढ्न जाने ट्रेण्ड भनौं वा फेसन भनौ, निकै बढेको छ ।
जब म डिग्रीको प्रमाणपत्र हातमा बोकेर जागिरको खोजिमा निस्कन्छु । लाग्छ, मैले जिवनमा ठूलो गल्ती गरेको छु । म यहि बसेर निरन्तर पढीरहनु मेरो जिवनको सबैभन्दा ठूलो गल्ती भयो ।
झन एअरपोर्टमा देखिने लस्कर देख्दा केही वर्ष भित्रै नेपाल रित्तिदै त छैन भने जस्तो लाग्छ । हुदाँ हुँदै अचेल त व्यङ्ग्यात्मक रुपमा अष्ट्रेलियालाई नेपालको आठौं प्रदेश र प्रान्त समेत भन्ने गरेको सुनिरहेको छु ।
एक जना शाखा अधिकृतको जागिर गरिरहेका ब्यक्ति आफ्नो श्रीमतीलाई डिभि परेपछि नेपालको जागिर छाडेर अमेरिका लागे । उनलाई हुँदा खाँदाको यति राम्रो जागिर छाडेर किन जान थाल्नुभो भनेर सोध्दा उनले आफ्नो जे जस्तो भएपनि सन्ततिको भविष्य बिग्रन दिनु हुँदैन भन्ने जवाफ दिए ।
यस्तै एक नेपाल प्रहरीमा कार्यरत सिपाही जागिर छोड्ने तयारीमा छन् । यति राम्रो सरकारी जागिर छ किन छाड्नु हुन्छ ? भन्दा विहानदेखि बेलुका काम गर्दा समेत महिना मर्दा पैसा जोगाउने कुरा त परै जाओस् कसरी खर्च चलाउने भन्नै समस्याले सताउने गरेको बताउँछन् ।
अनि म फेरि आफूले आफैलाई सम्झन्छु, मसँग त कुनै कामको अनुभव नि छैन । सायद यहि मेरो जिवनको ठूलो गल्ती भयो !




