काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रशारण भएको ‘इट्स माई शो’को पछिल्लो शो विवादमा फसेको छ । कार्यक्रममा नयाँ प्रस्तोता बनेर आएकी ओसिन सिटौलाले गेस्ट बनेर पुगेका नायिका स्वस्तिमा खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाहसँग अन्तर्वार्ता लिएसँगै विवादित बनेको हो ।
कार्यक्रमकी सञ्चालिका ओसिनले सोधेको प्रश्न र अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको जवाफलाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र आलोचनामा छ ।
उक्त शोमा पुगेर नायिकाद्धय स्वस्तिमा र साम्राज्ञीले नितान्त व्यक्तिगत कुरालाई राष्ट्रिय टेलिभिजनमा बोलेपछि चर्को टिप्पणी भइरहेको छ । जहाँ उनीहरुले अनमोलको व्यक्तिगत जीवनको बारेमा बोलेका थिए । यता, सोही विषयप्रति नायक अनमोल केसीले आपत्ति जनाएका छन् ।
उक्त कार्यक्रममा उठाइएको विषयप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा अनमोलले लेखेका छन्, ‘यदि उनीहरु तपाईंलाई सम्मान गर्छन् भने सम्मान दिनुस् । यदि उनीहरुले अनादर गर्छन् भने पनि अझै सम्मान नै दिनुस् । किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरुलाई होइन । सबैलाई सम्मान गर्नुहोस् ।’
टिभी कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै नायिका जसिता गुरुङले आपत्ति जनाइसकेकी छन् । जसिताले आपत्ति जनाएपछि दुई नायिकाले माफी मागेका छन् । तर, कार्यक्रमकी होस्ट ओसिनले यस बारे प्रतिक्रिया दिएकी छैनन् ।




