अन्योलै अन्योलको
झिलिमिली,
चलिरहन्छ
प्रत्येक वर्ष,
हिउँदमा एक सरकार,
वर्षामा अर्कै
अलिपर सुरक्षित ठाउँसम्म पुगौँ भन्यो
एक कृत्रिम मस्तिष्कको पञ्जाले
हातै नङ्ग्र्याइदिन्छ
मस्तिष्कका झ्यालढोका भत्काएर जताततै,
छापछाप्ती छन,
अनेक सरकार,
अस्तित्व
मौलिक सिर्जना लेखौँ
कि?
सापटी अवधारणा पोखौँ?
खै के लेखौँ लेखौँ?
काङ्ग्रेस र एमालेको, बजारभाउ महँगो छ,
माओवादी र काङ्ग्रेसको,
बजारभाऊ सस्तिएको छ,
माओवादी र एमालेको
बजारै छैन ।
मौलिकताको ट्याग टाँसेर बेचिँदैछ
सेकेन्डह्यान्ड सामग्रीहरू
कसैको कारखानाको उत्पादन
कोही आफ्नै ट्रेडमार्क टाँसेर
ग्राहकलाई छ्क्याउँदैछ
बजारको घोडा बेलगाम कुदिरहेछ
पसिनामा नुहाइरहेका सर्जकहरूलाई
किल्चँदै, लत्याउँदै ।
मस्तिष्कलाई नै चुनौती दिन्छ
मस्तिष्कको गर्भाशयबाट
जन्मिएको अर्को मस्तिष्क
सबै मौलिक चिन्तनको भँडारको चाबी
आफ्नो पोल्टामा घुसारेर
संवेदनाहीन एउटा मस्तिष्क
नेता बनेको छ,
यसरी अर्को
कलाकार जस्तै
नेता बनेको छ
आफन्त खूब
हासेका छन
जनता निराकार
आशु पिउन बाध्य ।
म त अहिले
आफ्नै मस्तिष्क हराएर
अभियोग दर्ता गराउने तरखरमा छु
खै अब त झन्
के लेखौँ लेखौँ
आफै हराएको सूचना लेखौँ
कि
मस्तिष्क गुमाएको वेदना पोखौ !
लेख्ने दायित्व
पढ्ने अभिभारा
सिर्जनाका सबै कामहरू
उसैको जिम्मामा छ
जसले –
न खेत जोत्यो कहिल्यै
न भोका पेटका अनिदा रातहरू भोग्यो
न त उसको कुमारीत्व हर्यो कुनै वासनाजीवीले
वास्तविक भोगाइसँग अपरिचित ऊ
उत्तरदायित्वदेखि कोसौँ टाढा
सिद्धान्तको सीमानाबाहिर विचरण गर्ने
अशरी आत्मा
परमात्मा बनेर
आज मेरो कलम समाइरहेछ ।
हुन त,
म पनि कहाँको संवेदनशील कवि हुँ कविज्यू!
विश्वास गर्नुहोस्।
अथवा नगर्नुहोस्
घामको तीब्रता जोखेर
झरीको प्रकोप बुझेर
उस्तै उस्तै छाता बोक्ने
एक अवसरवादी सर्जक म
जो सिर्जनाभन्दा स्वीकृतिको चिन्ताले ग्रस्त छ
जो गौँडा खोजेर मस्तिष्क बेच्न व्यस्त छ ।
यस्तै उस्तै परिवेश र परिस्थितिले
अन्योलै अन्योल जन्माएर
दिग्भ्रमित पारेको समयमा
खै के लेखौँ लेखौँ
सफलताको प्रतिवेदन लेखौँ
प्रतिष्ठाको निवेदन लेखौँ
के लेखौँ लेखौँ!
तिमी भन्छौ –
लेख न लेख
म भन्छु –
हेर न हेर
मस्तिष्क र कृत्रिमताको साँध-सिमाना हेर
मस्तिष्कभित्रको कृत्रिमताको काँचुली हेर
छ फरक केही?
केही फरक छ ?
काङ्ग्रेस र माओवादीबीच,
माओवादी र एमालेबीच,
काङ्ग्रेस र एमालेबीच ।




