पौराणिक कथावाचक देवी प्रतिभाद्वारा अभिव्यक्त ‘शास्त्रमा सम्बन्ध विच्छेद भन्ने शब्द नै छैन’ भन्ने कुरा अहिले निकै सर्वाधिक चर्चामा रहेको छ । प्रतिभाले धार्मीक कुरा गरेकी हुन्, कालो कोट लाएर कुनै वकालत गरेकी त हैनन् र अर्कातिर आफूलाई सुसंस्कृत र सुपठित ठान्ने रती र मती ठिक नभएका अहंकारका विम्बले भरिएका मानिसहरुबाट त्यस्ता वाक्यांस ब्यक्त भएको हैन् ।
हिन्दु धर्म, विशेष गरी “मनुस्मृति”ले तत्कालीन भारत वर्षमा नारीहरूमाथि गरेको अन्याय, अत्याचार, विभेद, शोषण र शासनलाई जसरी हामीले बुझेको छौं उनले पनि त्यसरी नै बुझेकी छिन् । त्यसको असर आज पनि हामी नेपाली नारीहरू (आर्य खस समुदायका नारीहरूले बढी) ले भोगिरहेका छौं । जस्ले जति नै दुत्कारे पनि घरेलु हिंसा जिवितै छ ।
सनातन धर्मले मान्छ, सात फेरा लिनु भनेको सात जन्मसँगै रहन बनाएको हो, प्रतिभा बाल्यकालदेखि तिनै शास्त्रमा लेखिएका शब्द सुन्दै हुर्किएकी र कथा वाचन गर्न थालेकी युवती हुन् । उनले बाचन गर्ने कथाहरु शास्त्रमा लेखिएका आधारमा बाचन गरिएको हुन्छ । कुनै पनि विधामा सफलता प्राप्त गर्न लगनशिलता र सहनशिलताका साथै कठिन रुपमा सघर्ष गर्नु पर्ने हुन्छ । त्यो पनि एक महिलालाई घरदेखि लिएर समाजमा अत्यन्तै लड्नुपर्छ । यस्को बाबजुद पनि उनको विज्ञतता शास्त्रमै रहेको छ ।
शास्त्रमा लेखिएको रहेछ ‘महिलालाई पतिले जे भन्यो त्यही सहेर बस्नुपर्छ’ भन्ने वाक्यसबाट आज हाम्रो समाज धेरै पर पुगिसकेको छ । यसर्थ कष्ट, पिडा हुन्छ मन मिल्दैन, कठिनताका साथ एकै ठाँउमा बस्नुभन्दा पारपाचुके गर्न कानुनले स्विकृती दिइ सकेको छ । तर, अझै पनि एक शताब्दी लामो संघर्षपछि पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक फरक रूप र प्रकृतिमा संसारभर कायम छ ।
नेपालको संविधान ०७२ ले शब्दमा समान अधिकार सुनिश्चित गरेपनि व्यवहारमा भने विभेद जारी नै देखिन्छ । संविधानमा जे लेखिएपनि धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ ।
खास गरी भारत वर्षमा मनुस्मृतिको रचनासँगै नारीमाथि हुँदै आएको अन्याय, अत्याचार, शोषण, दमन विभिन्न रूपमा आज पनि जारी छ । हाम्रो संविधानमा लैंगिक समानताका शब्दहरू लेखिएपनि जीवन व्यवहारमा डरलाग्दा असमानताहरू कायमै छन् । जसको अन्त्यका निम्ति कठोर लडाईं अझै धेरै लड्न जरूरी छ । नेपाली महिलाहरूमाथि हुँदै आएका र भइरहेका शोषणका रूपहरू फरक छन् । लैंगिक, धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, यौनिक, शैक्षिक लगायत विभेदहरु छन् ।
बलात्कार, महिला बेचबिखन र विशेष गरी मधेसमा डरलाग्दो रूपमा रहेको दाइजो प्रथाले नेपाली नारीहरूलाई मृत्युको मुखमा धकेलिरहेको छ । हामी कहाँ महिलाहरुले आफ्नो इच्छा र सहमति विपरीत अरू कसैको दबावमा गर्भधारण र गर्भपतन गर्नुपर्ने बाध्यता पनि कायम छ । यो अर्को प्रकारको महिला हिंसा हो । प्रजनन अधिकार महिलामा सुरक्षित हुनुपर्छ । अर्कातिर घर घरमा महिलाले महिलामाथि गर्ने हिंसा महिला मुक्तिको लागि ठूलो बाधक बनिरहेको छ ।
आफू स्थापित भइरहेको ठाउँमा बुहारी आएपछि विस्तापित हुने डरले पुस्तान्तरणको कारण पैदा भएको सासू बुहारी वा अशिक्षा र असल संस्कारको अभावमा आधुनिकताको नाममा खोक्रो आडमबरको खोल ओडेका घरै भित्रका नारी पनि एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले महिलाहरूलाई पछि पारिरहेको छ ।
परम्परा भनेर सती प्रथालाई राज्यले उन्मूलन नगरेको भए आजसम्म कति सतीको ज्यान जान्थ्यो होला ? आज हामी कल्पना पनि गर्न सक्दैनौं । तसर्थ, यस्ता अन्धविश्वास र कुप्रथाको अन्त राज्यले छिटोभन्दा छिटो गर्न सक्दछ । सत्ता भनेको सम्पत्तिमाथिको स्वामित्व हो । सम्पत्तिमाथि महिला पुरूष दुवैको समान स्वामित्व कायम भएपछि धेरै हदसम्म महिला पुरूष समानता पनि व्यवहारमा लागू हुँदै जाने निश्चित छ ।




