काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले विवाह गरेकी छन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा दुई बिच विवाह भएको हो ।
श्रेष्ठ वराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय कांग्रेस नेता हुन् । उनी वराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । निकट आफन्त र परिवारको उपस्थितिमा उनीहरुले विवाह गरेका हुन् ।
उनीहरुले मागी विवाह गरेको बताइएको छ । केही दिनअघि यी दुई जनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज समेत गरिसकेका छन् । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी अरुणिमाको यो दोस्रो विवाह हो । यस्तै अरुणिमा विवाहपश्चात फेरि अमेरिका फर्किनेछिन् ।
यसअघि उनको विराटनगरका अमित अर्यालसँग प्रेम विवाह भएको थियो । विवाहको ६ वर्षपछि पहिलो सन्तानका रुपमा अरुणिमाले छोरी जन्माएकी थिइन् । सन्तान प्राप्तिसँगै उनीहरु अमेरिका पलायन भए । अमेरिका गएको केही समयमा उनीहरुबीच सम्बन्ध विच्छेदको खबर बाहिरिएको थियो ।




