एजेन्सी । बलिउडमा कट्रिना कैफलाई सलमान खानको नजिकको साथीको रूपमा चिनिन्छ । करिब सात वर्ष लामो समय एकअर्कालाई डेट गरेपछि यी दुई कलाकार अहिले मिल्ने साथी भएका छन् ।
‘मैने प्यार क्यू किया’, ‘एक था टाइगर’, ‘भारत’ गरेर सात वटा फिल्ममा सँगै अभिनय गरेका सलमान र कट्रिनाको जोडी दर्शकले धेरै रूचाएका छन् । अहिले पनि बलिउडमा सलमान र कट्रिना बिचको सम्बन्धलाई लिएर कयौँ हल्ला चलिरहेको हुन्छ ।
हाल कसैसँग सम्बन्धमा नरहेका यी दुई साथी मात्रै हुन् वा होइनन् कसैलाई थाहा छैन । तर जब कुनै कार्यक्रममा सलमानलाई कट्रिना बारे प्रश्न सोधिन्छ उनको हाउभाउ परिवर्तन भएको देखिन्छ ।
एक पटक अभिनेता विक्की कौशलले भने कट्रिना कैफलाई सलमान खानकै अगाडि बिहेको प्रस्ताव राखेका थिए । केही वर्ष अघि एक कार्यक्रममा विक्कीले ‘मुजसे सादी करोगी’ गीत गाएर कट्रिनालाई प्रोपोज गरेका हुन् । कार्यक्रममा सलमान खान पनि उपस्थित थिए ।
सन् २००४ मा रिलिज भएको ‘मुजसे सादी करोगी’ गीतमा सलमान खानको अभिनय थियो । यही गीत विक्कीले सलमानकै अगाडि कट्रिनाको लागि गाएको हिन्दुस्तान टाइम्सले लेखेको छ ।
विक्कीले कट्रिनालाई बिहेको प्रस्ताव राखेको भिडियो केही दिन यता सामाजिक सञ्जालमा देखिन थालेपछि चर्चामा आएको हो । भिडियोमा विक्कीले कट्रिनालाई उनी जस्तै मान्छे खोजेर बिहे गर्न सुझाव दिन्छन् । त्यस लगतै गीत गाएर बिहेको प्रस्ताव राख्छन् ।
विक्कीले देखाएको यो हिम्मतपछि सबैको ध्यान सलमान खानतिर जान्छ । सलमान भने केवल मुसुमुसु हाँसिरहन्छन् । केहीबेर उनले रमाइलोको लागि बेहोस भएको अभिनय पनि गरेका थिए ।
यता कट्रिनाले भने विक्कीसँग बिहे गर्न हिम्मत नभएको बताएकी थिइन् । कट्रिनाको यस्तो जवाफ सुनेपछि सलमान ढुक्क भए जस्तो देखिन्थे । यस कार्यक्रमपछि कट्रिना र विक्की मिडियाको आर्कषणमा पर्न थालेका छन् ।
पछिल्ला केही समय सँगै देखिरहेका यी दुई डेट गरिरहेको हुन सक्ने हल्ला छ । गत महिना अभिनेता हर्स वरदान कपुरले एक अन्तर्वार्ताको क्रममा कट्रिना र विक्की डेट गरिरहेको खुलासा गरेका थिए । यो अन्तर्वार्तापछि कट्रिना हर्स वरदान कपुरसँग निराश भएको कुरा पनि चर्चामा आएको थियो ।






