काठमाडौं । डेंगु संक्रमणका कारण चितवनमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका २ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।
डेंगु संक्रमण गराउने ‘टाइगर लामखुट्टे’बाट कसरी जोगिने ?
डेंगु एडिस एजेप्टाई र एडिस अल्बोपिक्टस नामका पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । नेपालमा यसअघि धेरै मात्रामा एडिस एजेप्टाई लामखुट्टे फेला परेका छन् । यी दुवै प्रकारका लामखुट्टे फेला पर्नु भनेको डेंगु रोग फैलने सम्भावना थप बढ्नु हो ।
यी लामखुट्टे कालो जिउमा सेतो छिर्केमिर्के भएका हुन्छन् । नेपालमा हालसम्म धेरै मात्रामा भने एडिस एजेप्टाई प्रकारका लामखुट्टे भेटिएका छन् । डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस एजेप्टाई बढी सक्रिय हुन्छन् भने एडिस अल्बोपिक्ट भने केही लोसे हुन्छन् ।
यो झट्ट हेर्दा कालो रंङको हुने गर्छ । शरीरभरि सेतो छिर्केमिर्के हुन्छ । विशेष गरी बाघको जस्तै शरीरमा टाटेपाटे बुट्टा भएको हुनाले यसलाई टाइगर मस्क्विटो भनिएको हो । यसले मानिसलाई मात्र नभई जनावर तथा चराचुरुङ्गीलाई पनि टोक्छ ।
यसले देखिने छालाको कुनै भागमा पनि टोक्न सक्छ । घरभित्र वा बाहिर जहाँ पनि टोक्न सक्छन् तर विशेष गरी घर बाहिर टोक्छन् । यो २ देखि १० मिलिमिटर लम्बाइको हुन्छ । लमखुट्टेको शरीरको बनोट, उमेर तथा खाना अनुसार फरक पर्छ । पोथीभन्दा भाले लामखुट्टे २० प्रतिशत जति साना हुन्छन् । तर हेर्दा उस्तैउस्तै देखिन्छन् ।
विश्वमा यो लामखुट्टेले एकदमै छिटो रोग फैलाउने गर्छ । यो लामखुट्टेले दिउँसो मात्र टोक्छ । यसले धेरै भाइरस सार्ने त्यसमाथि पनि डेंगु ज्वरोको जोखिम बढाउने गर्छ । पोथी लामखुट्टेले पानीमा अण्डा पार्छ । घरको छेउछाउ खाल्डाखुल्डी, फालिएका भाँडाकुडा, रुखका टोड्कामा यसले अण्डा पार्ने गर्छ ।
पोथी लामखुट्टेले पानीको सतहमा अन्डा पार्छे र पानीमै अन्डाबाट लामखुट्टे बन्छन्, त्यो पनि ७ देखि ९ दिनमा वयस्क हुन्छन् । लामखुट्टेको आयुदर ३ हप्ताको हाराहारीमा हुने गर्छ । पहिले दक्षिणपूर्वी एसियामा पाइने यी लामखुट्टेहरु फैलिँदै गएका छन् । सामान ओसारपसार र वैदेशिक यात्राले यसको फैलावट बढिरहेको छ ।
विशे गरी रुखका प्वाल, टोड्का र बिरुवा झाडीमा बस्ने गर्छन् र जमेका पानी भाँडामा पनि यिनीहरु अन्डा पार्छन । यो लामखुट्टेले डेंगु तथा चिकुनगुनिया भाइरस संक्रमण गराउने भनेर चिनिन्छ तर यसले अरु भाइरसको पनि संक्रमण गराउँछ ।
यो लामखुट्टे दिउँसोको समयमा एकदमै आक्रमक भएर टोक्छ । यसले यति छिटो टोक्छ कि मान्छेले प्याट्ट पार्न नपाई भाग्छ । उनीहरु प्रायः बिहान र राति आराम गर्छन् र दिउँसो सक्रिय रहन्छन् ।






