काठमाडाैं । तिहारको समयमा धेरै चिल्लो, मसलादार तथा गुलिया मिठाई र परिकारको सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । त्यसैले स्वस्थ र सुरक्षित रूपमा तिहार मनाउन खानपानमा विशेष ध्यान दिन आवश्यक छ ।
तिहारमा मिठाई तथा चिल्ला परिकार खाँदा मात्राको ख्याल गर्नुपर्छ । एकैपटक धेरै खानुभन्दा थोरै–थोरै मात्रामा सेवन गर्नु उपयुक्त हुन्छ । अत्यधिक चिनी र कृत्रिम रङ मिसाइएका मिठाईको सट्टा घरमै बनाइएका शुद्ध परिकार, ताजा फलफूल, काजु, बदाम, किसमिस तथा खजुरजस्ता स्वस्थ विकल्प रोज्न सकिन्छ ।
त्यसैगरी, शरीरलाई स्वस्थ राख्न दिनभरि पर्याप्त मात्रामा पानी पिउनुपर्छ । चाडपर्वको व्यस्तताका बाबजुद पनि दैनिक केही समय हिँडडुल, योग वा सामान्य व्यायामका लागि छुट्याउनु आवश्यक छ ।
बजारमा लामो समयदेखि राखिएका वा खुला रूपमा बिक्री गरिएका अस्वस्थकर चिल्लो तथा मसलादार परिकार खानुभन्दा घरमै सफा तेल र गुणस्तरीय सामाग्री प्रयोग गरी तयार पारिएका ताजा खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।
गुलिया तथा चिल्ला परिकारसँगै सलाद, हरिया सागसब्जी र फाइबरयुक्त खानेकुरा पनि पर्याप्त मात्रामा सेवन गर्नुपर्छ । यसले पाचन प्रक्रियालाई सहज बनाउन मद्दत गर्छ । खानपानमा सन्तुलन र नियमित शारीरिक सक्रियता कायम राख्न सके तिहारलाई रमाइलोका साथै स्वस्थ रूपमा मनाउन सकिन्छ ।




