बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित चुरियामाई मन्दिर नजिकै कोइला लोड ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
बिहीबार साँझ ५:३५ बजे हेटौंडा–पथलैया सडकखण्डमा वीरगञ्जबाट धादिङतर्फ जाँदै गरेको ना ६ ख १४५८ नम्बरको कोइला लोड ट्रक र हेटौंडाबाट रौतहटतर्फ आउँदै गरेको प्रदेश २–०३–००९ प ७९११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको चन्द्रपुर नगरपालिका ७ नयाँबस्ती निवासी २१ वर्षीय नन्दकिशोर दास र पछाडि सवार सर्लाहीको बसबरिया गाउँपालिका ३ निवासी २१ वर्षीय निराजन यादव घाइते भएका थिए ।
दासको दुवै हात, दुवै खुट्टा तथा मुखमा चोट लागेको थियो भने यादवको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दुवै घाइतेलाई उपचारका लागि साँझ ६:३० बजे मकवानपुरस्थित जिल्ला अस्पताल हेटौंडा पुर्याइएको थियो ।
उपचारका क्रममा साँझ ६:३९ बजे चिकित्सकले ईसीजी परीक्षण गर्दा पछाडि सवार निराजन यादवलाई मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक दासको जिल्ला अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट वरिष्ठ प्रहरी नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । ट्रक चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका ५ कमाने निवासी ३० वर्षीय दीपक घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




