सिरहा । सिरहाको मिर्चैयाबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर, नगद, मोबाइल, डिजिटल तराजु र एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।
बिहिबार राति करिब ८:१० बजे मिर्चैया नगरपालिका ६ स्थित कटारी चोकमा लागुऔषध ब्राउन सुगरको कारोबार भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले संयुक्त टोली परिचालन गरेको थियो ।
इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको टोलीले कटारी चोकबाट कटारीतर्फ जाँदै गरेको प्रदेश २-००५ प ३००३ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालक भने सवारी साधन छाडेर फरार भएका थिए ।
मोटरसाइकलमा पछाडि सवार मिर्चैया नगरपालिका ५ का २७ वर्षीय कृष्णकुमार यादव र कल्याणपुर नगरपालिका ४ का २० वर्षीय सुरेन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जाँचका क्रममा कृष्णकुमार यादवको साथबाट प्लास्टिकसहित १३.०७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्लास्टिकबाहेक ब्राउन सुगरको तौल १०.३९ ग्राम रहेको छ । त्यस्तै, उनीहरूको साथबाट नगद ४ हजार रुपैयाँ, दुई थान स्क्रिन टच मोबाइल र एक थान डिजिटल तराजु समेत बरामद गरिएको छ ।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार बरामद लागुऔषध तथा अन्य सामान र मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र फरार मोटरसाइकल चालकको पहिचान तथा खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।




