वीरगञ्ज । मधेश प्रदेशका आठवटै जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबीच भएको कार्यसम्पादन मूल्याङ्कनमा पर्साको वीरगञ्जस्थित प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रम तथा सेवा प्रवाहको आधारमा गरिएको मूल्याङ्कनमा वीरगञ्जस्थित चिकित्सालयले ८७ अंक प्राप्त गर्दै पहिलो स्थान सुरक्षित गरेको हो ।
मूल्याङ्कनको नतिजाअनुसार ६१ अंकसहित बारा दोस्रो र ५१ अंक प्राप्त गर्दै सिरहा तेस्रो स्थानमा रहेका छन् । यस नतिजाले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको क्षेत्रमा वीरगञ्ज अस्पतालले अन्य जिल्लाका स्वास्थ्य संस्थाभन्दा प्रभावकारी कार्यसम्पादन गरेको देखाएको छ ।
उत्कृष्ट नतिजासहित प्रदेशमै पहिलो स्थान हासिल गरेपछि प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जका प्रमुख डाक्टर शिवनारायण गुप्ता सम्मानित भएका छन् । उनलाई मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डाक्टर प्रमोदकुमार यादवले सम्मान गरेका हुन् ।
मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालयद्वारा जनकपुरधामस्थित होटल पौवामा आयोजित प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीमा उक्त नतिजा सार्वजनिक गरिएको थियो ।
गोष्ठीमा प्रदेशका विभिन्न स्वास्थ्य संस्थाले आर्थिक वर्षभरि सञ्चालन गरेका कार्यक्रम, सेवा प्रवाहको अवस्था, लक्ष्यअनुसारको प्रगति तथा समग्र कार्यसम्पादनको समीक्षा गरिएको थियो ।
आठ जिल्लाका आयुर्वेद स्वास्थ्य संस्थाबीचको प्रतिस्पर्धामा ८७ अंकसहित शीर्ष स्थान हासिल गर्नु वीरगञ्जस्थित चिकित्सालयका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ । यसले संस्थाको सेवा व्यवस्थापन, कार्यक्रम कार्यान्वयन र कार्यसम्पादनमा देखिएको सकारात्मक प्रगतिलाई समेत प्रतिबिम्बित गरेको छ ।




