काठमाडाैं । तिहारमा देउसीभैलो खेल्ने परम्परा रहेपनि राति अबेरसम्म कार्यक्रम सञ्चालन गर्दा सर्वसाधारणलाई असुविधा हुन सक्ने भन्दै प्रहरीले समयसीमाको पालना गर्न आग्रह गरेको छ ।
देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मात्रै मर्यादित रूपमा सञ्चालन गर्नुपर्ने प्रहरीको भनाइ छ । चाडपर्वका अवसरमा पूजाआजा, मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दा राति अबेरसम्म चर्को आवाजमा डिजे र साउन्ड सिस्टम बजाउने प्रवृत्तिले पनि समस्या निम्त्याउन सक्ने भएकाले सचेतना अपनाउन प्रहरीले भनेको छ ।
विशेषगरी पटका र आतिसबाजीको ठुलो आवाज तथा चर्को ध्वनिले वृद्धवृद्धा, बालबालिका र बिरामीलाई असर गर्न सक्ने भएकाले ध्वनि प्रदूषण हुने गतिविधि नगर्न प्रहरीले आग्रह गरेको छ ।
त्यस्तै, चाडपर्वका अवसरमा निकालिने र्याली, जुलुस तथा शोभायात्राका क्रममा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्ता कार्यक्रमको मार्ग र समयका कारण दुई समुदायबिच विवाद वा झडप हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्थापन थप मजबुत बनाइएको प्रहरीले जनाएको छ ।
तिहार तथा अन्य चाडपर्वमा उपभोग्य वस्तुको माग बढ्ने भएकाले बजारमा हुन सक्ने अनियमितता नियन्त्रणलाई पनि प्रहरीले सुरक्षा योजनामा समेटेको छ । चाडपर्वको समयमा खाद्यान्न, लत्ताकपडा, इन्धन तथा दैनिक उपभोगका सामाग्रीको माग बढ्ने गर्छ ।




