काठमाडौं । रूघाखोकी मुख्यत: भाइरसको संक्रमणका कारण हुने गर्छ । सामान्य रूघाखोकी गराउने प्रमुख भाइरसमध्ये राइनोभाइरस प्रमुख हो । यसले करिब ३० देखि ८० प्रतिशतसम्म सामान्य रूघाखोकी गराउन सक्ने बताइन्छ ।
यसबाहेक कोरोनाभाइरस, एडेनोभाइरस, रेस्पिरेटरी सिन्सिटियल भाइरस (आरएसभी) लगायत २०० भन्दा बढी प्रकारका भाइरसका कारण पनि रूघाखोकी हुन सक्छ ।
संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा हावामा स-साना थोपाहरू निस्कन्छन् । ती थोपाहरू श्वासप्रश्वासका क्रममा स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गर्दा संक्रमण सर्न सक्छ ।
त्यस्तै, संक्रमित व्यक्तिले छोएका वस्तुहरू जस्तै ढोकाको ह्यान्डल, मोबाइल फोन, किबोर्ड तथा भाँडाकुँडा छोएपछि हात नधोई आँखा, नाक वा मुखमा लैजाँदा पनि भाइरस शरीरमा प्रवेश गर्न सक्छ ।
शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा भाइरसको संक्रमण हुने जोखिम बढ्न सक्छ । चिसो मौसम वा मौसम परिवर्तनका बेला श्वासप्रश्वाससम्बन्धी भाइरसको संक्रमण बढ्न सक्छ ।
त्यस्तै, घरभित्र वा कम हावा चल्ने स्थानमा धेरै मानिस जम्मा हुँदा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो फैलिन सक्छ । विद्यालय, सार्वजनिक स्थल तथा भिडभाड हुने स्थानमा पनि संक्रमणको जोखिम बढी हुन्छ । नियमित रूपमा हात नधुने बानीले समेत संक्रमणको सम्भावना बढाउँछ ।
रूघाखोकी तथा फ्लुलगायत श्वासप्रश्वाससम्बन्धी संक्रमणबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आवश्यक हुन्छ । यसका लागि निम्न उपाय अपनाउन सकिन्छ:
हात सफा राख्ने : साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म हात राम्ररी धुने । साबुन र पानी उपलब्ध नभएको अवस्थामा अल्कोहलयुक्त ह्यान्ड स्यानिटाइजर प्रयोग गर्न सकिन्छ ।
अनुहारमा हात नलैजाने : अनावश्यक रूपमा आँखा, नाक र मुखमा हात लैजानबाट बच्नुपर्छ। फोहोर हातबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ ।
संक्रमित व्यक्तिबाट दूरी कायम गर्ने : रूघाखोकी वा अन्य श्वासप्रश्वाससम्बन्धी संक्रमण भएका व्यक्तिबाट सम्भव भएसम्म दूरी कायम गर्नुपर्छ ।
मास्कको प्रयोग गर्ने : भिडभाड वा सार्वजनिक स्थानमा जाँदा आवश्यकताअनुसार मास्क प्रयोग गर्न सकिन्छ । विशेष गरी संक्रमण फैलिरहेको अवस्थामा यसले जोखिम कम गर्न मद्दत गर्न सक्छ ।
खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने : खोक्दा वा हाछ्युँ गर्दा कुहिनो वा टिस्यु पेपरले नाक र मुख छोप्नुपर्छ । प्रयोग गरिएको टिस्युलाई तुरुन्तै फोहोर फाल्ने स्थानमा राखेर हात सफा गर्नुपर्छ ।
प्रशस्त तरल पदार्थ पिउने : पर्याप्त पानी तथा अन्य झोलिलो पदार्थ सेवन गर्दा शरीरमा पानीको मात्रा कायम राख्न मद्दत पुग्छ । मनतातो पानी, झोलिलो खानेकुरा तथा अदुवा वा तुलसी राखिएको चिया सेवन गर्दा घाँटीमा आराम मिल्न सक्छ ।
पौष्टिक आहार र पर्याप्त निद्रा : फलफूल, सागसब्जी तथा अन्य पोषिलो खाना नियमित रूपमा खानुपर्छ । पर्याप्त निद्रा र आरामले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छ ।
सरसफाइमा ध्यान दिने : घर तथा कार्यालयमा नियमित रूपमा प्रयोग हुने मोबाइल, ढोकाको ह्यान्डल, किबोर्ड, टेबललगायत वस्तुहरू नियमित रूपमा सफा गर्नुपर्छ ।
सामान्य रूघाखोकीका लक्षण देखिएमा पर्याप्त आराम, तरल पदार्थको सेवन र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । तर धेरै उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, लक्षण झन् बढ्दै जाने वा लामो समयसम्म निको नहुने अवस्था देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिनुपर्छ ।




