काठमाडौं । जापानिज इन्सेफ्लाइटिसको संक्रमणले सन् २०२४ को जनवरीदेखि हालसम्म १४ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले हालसम्म ६१ जनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएको र १४ जनाको मृत्यु भएको जानकारी दिए ।
ती सबै संक्रमितको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । डा. गौतमले भदौ १५ देखि असोज १५ सम्म जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम रहेको भन्दै विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् ।
साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखापर्न सक्ने भए पनि, पोथी क्युलेक्स लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकाले असोज महिनासम्म संक्रमणको जोखिम रहिरहने उनको भनाइ छ ।
धान खेतमा जमेको पानीमा यो प्रजातिको लामखुट्टेले फुल पार्छन् र ती लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा भाइरस सार्छन् । त्यसपछि मानिसलाई टोकेपछि जापानिज इन्सेफ्लाइटिस सर्छ । लामखुट्टेको टोकाइपछि ६ देखि १६ दिनभित्र लक्षण देखा पर्ने गर्दछ ।
नेपाल सरकारले सन् २०१६ देखि १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिन थालेको छ । सन् १९९९ देखि २००६ सम्म उच्च जोखिम भएका केही जिल्लामा मात्र खोप दिइएको भए पनि त्यसपछि देशभरका सबै बालबालिकालाई खोप दिइँदै आएको छ ।
जन्मेको १२ महिनामा छुट भएका बालबालिकालाई पाँच वर्षभित्र खोप दिने व्यवस्था गरिएको छ । जापानिज इन्सेफ्लाइटिसको संक्रमणले प्राय: १५ वर्ष मुनिका बालबालिका बढी प्रभावित हुने गर्छन् । यस रोगका लक्षणहरूमा उच्च ज्वरो, टाउको दुख्ने, पक्षघात हुने, घाँटी कडा हुने र कम्पन हुने समस्याहरू पर्दछन् ।
लामखुट्टेको टोकाइबाट बच्नका लागि झुल लगाएर सुत्ने, सुँगुर, हाँसजस्ता जनावरलाई घरदेखि टाढा राख्ने, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने, घर वरिपरि पानी जम्न नदिन खाल्डाखुल्डी पुर्ने, लामखुट्टे भगाउने धुप बाल्ने वा मलम लगाउने उपाय अपनाउन डा. गौतमले सल्लाह दिएका छन् ।






