काठमाडौं । फूलपातीको अवसरमा बिहीबारदेखि तीन नयाँ नेपाली फिल्महरू ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका छन् । तीन वटा फिल्म एकसाथ प्रदर्शन हुँदा दर्शक बाँडिने भएकाले व्यापारमा असर पर्ने अनुमान छ, तर तीनै फिल्मको बजार चर्चा राम्रो रहेको छ । निर्माताहरू आफ्नो फिल्मले राम्रो व्यवसाय गर्ने विश्वास व्यक्त गर्दै आएका छन् ।
छक्का पन्जा ५
दीपकराज गिरी र दीपाश्री निरौलाको टोलीले ‘छक्का पन्जा’ सिरिजलाई निरन्तरता दिँदै ‘छक्का पन्जा ५’ निर्माण गरेको हो । यस सिरिजका अघिल्ला फिल्महरूले व्यवसायिक रेकर्ड राखेका कारण यस पटक पनि राम्रो व्यापारको अपेक्षा गरिएको छ । दीपाश्री निरौलाले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, वर्षा शिवाकोटी र मेक्सम गौडेलको अभिनय छ । कार्यकारी निर्मातामा निर्मल शर्मा र केदार घिमिरे ‘माग्ने बुढा’ रहेका छन् ।
१२ गाउँ
एक्सन स्टार बिराज भट्टले निर्देशन गरेको ‘१२ गाउँ’ पनि बिहीबारदेखि प्रदर्शनमा आएको छ । फिल्ममा बिराज भट्ट, उनका छोरा समीर र न्यासी खड्काले अभिनय गरेका छन् । ट्रेलरमा १२ गाउँ नामक प्राचीन गाउँमा अत्याचारी शासकविरुद्धको लडाइँको कथा देखाइएको छ । फिल्ममा सनिशा भट्टराई, मुरलीधर, कनिज कोइराला, नरेन खड्का र दिया मास्के लगायतको अभिनय छ ।
ज्वाइँ साब
‘छक्का पन्जा’को टिमबाट छुटिएका जितु नेपाल मुख्य भूमिकामा रहेको फिल्म ‘ज्वाइँ साब’ पनि एकैसाथ प्रदर्शनमा आएको छ । वसन्त निरौलाले निर्देशन गरेको यस फिल्ममा गोवर्द्धन पण्डित नामक पात्रको कथा प्रस्तुत गरिएको छ, जसले योग्य वधुको खोजी गरिरहेको छ । जितु नेपालसँगै नीति शाह, बुद्धि तामाङ र शिवु पाण्डेको अभिनय रहेको यस फिल्मको निर्माण रेड आई फिल्मस र मौसम फिल्मसको सहकार्यमा भएको हो ।






