“जिन्दगी”
जिन्दगीमा अनगिन्ती खुसी मिले,
तर अझै धेरै खुसी समेट्ने र हाँसो बाँड्ने जमर्को कायम छ,
दुःख पनि नभोगेकेको कहाँ हो र
अझै कति भोग्नै होलान्,
तर ती दु:खलाई आफूमाथि नियन्त्रण नगराउन
परिश्रम कायम छ,
जित पनि थुप्रै परे होलान् मेरो हिस्सामा
तर ती जितका सिख र किस्साहरुले
अरुलाई अभिप्रेरित गराउने सपना कायम छ,
हार पनि नझेलेको कहाँ हो र
अझै कति झेल्नै होलान्
तर हारले सिकाएको पाठ र
हरेक हारसँगै बढ्दै गएको मेरो आत्मविश्वासलाई
निरन्तरता दिने प्रण कायम छ,
समग्रमा भन्नुपर्दा जीवन जिउने उत्साह कायम छ ।
“यहाँको चलनचल्ती”
सुन्दरताको मापन शारीरिक बनोटबाट हुन्छ यहाँ
प्रष्ट कुरा भन्दा चिप्ला कुरा नै बिक्छ यहाँ
चोर-सिपाहीको खेलमा चोर नै सधैं जित्छ यहाँ,
सक्षमताको मापन कागजी सर्टिफिकेटबाट हुन्छ यहाँ
कस्तो दुर्भाग्य राम्रोभन्दा हाम्रो नै सधैँ टिक्छ यहाँ,
जनतालाई छाक टार्न गाह्रो छ नेतालाई भत्ता मिल्छ यहाँ,
व्यवहारिकताको मापन उमेरको अङ्कबाट हुन्छ यहाँ
परिवर्तन ल्याउन कोसिस गर्नेलाई पर हट्न आदेश मिल्छ यहाँ,
श्रीमती मार्नेहरू जेलबाट छुट्छन् यहाँ
तर माया मार्नेहरू मनमा नै बस्छन् यहाँ,
सभ्यताको मापन पहिरनबाट हुन्छ यहाँ
दोषीलाई वाहा-वाही निर्दोषलाई सजाय मिल्छ यहाँ
न्याय दिने कानुन नै दृष्टिविहीन रहेछ
गुहार माग्न म अब जाउँ कहाँ ।
“खोज रहेछ जीवन, खोजी जारी राख्नु तिमी”
ती मानिसका लामा भिडमा
त्यो कोलाहल घुइँचोमा
कहिले नहराउनु तिमी,
लिन्छ जीवनले अग्नि परीक्षा
बनाउँछ तिमीलाई
पटक-पटक सीता माता
हार कहिले नमान्नु तिमी,
खोज रहेछ जीवन
खोजी जारी राख्नु तिमी
पार गर्नेछौ तिमीले
कुरूक्षेत्र पनि हुनेछ
तिम्रो विजय
अनि
बस त्यो धैर्यको बाँध कसिलो राख्नु तिमी,
तिमी स्वयंम अग्निको राप
वायुको सितलता र
गंगाको चन्चलताले भरिएकी छौ,
एक दिन पक्कै पनि
तिम्रा ती अदृश्य पंख फिजाए
नीला गगन चुम्नेछौ,
त्यो तिम्रो अठोट र सङ्घर्ष कायम राख्नु
तिमी सबैको मुहारमा मुस्कान छर्दै
आफू पनि मुस्कुराउनु तिमी,
खोज रहेछ जीवन खोजी जारी राख्नु तिमी ।




