काठमाडौं । हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले केही दिनअघि सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण माफी मागेका छन् । चलचित्र क्षेत्रमा ‘साइबर सेना’ सक्रिय भएको टिप्पणी गरेपछि आलोचना झेलिरहेका घिमिरेले आफ्नो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् ।
घिमिरेले भनेका छन्, “एक कार्यक्रममा आबेशमा आएर मैले ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा माफी चाहन्छु । अहिले मेरो बुझाइ र त्यसबेला बोलेको बीच फरक महसुस भएको छ ।” उनको यस अभिव्यक्ति प्रति अभिनेता विराज भट्टले खुलेर आपत्ति जनाएका थिए ।
भट्टको चलचित्र ‘१२ गाउँ’ प्रदर्शनमा रहेको छ भने घिमिरे अभिनित ‘छक्का पञ्जा ५’ पनि हलहरूमा प्रदर्शन भइरहेको छ । माग्ने बुढाले सामाजिक सञ्जालमा ‘छक्का पञ्जा’ विरुद्ध भइरहेका टिप्पणीहरूलाई लक्षित गर्दै उक्त अभिव्यक्ति दिएका थिए, जसका कारण उनी विवादमा तानिएका थिए ।






