काठमाडौं । चिसो सुरु भएपनि डेंगु लगायत किटजन्य रोगहरूको जोखिम बढ्दैछ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार मनसुनपछि लामखुट्टेको प्रजननका लागि अनुकूल वातावरण बन्ने भएकाले अहिलेको मौसममा डेंगु संक्रमणको खतरा अझै बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तथ्याङ्क अनुसार हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।
डेंगु के हो ?
डेंगु एक भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट फैलिने रोग हो । यो लामखुट्टे प्राय: बिहान र बेलुकाको समयमा सक्रिय हुन्छ र पानी जमेको कुनै पनि स्थानमा प्रजनन गर्न सक्छ ।
डेंगुको प्रमुख लक्षणहरूमा उच्च ज्वरो, जोर्नी तथा मांसपेशी दुखाइ, आँखाको पछाडिको भाग दुख्नु, शरीर दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने र पेट गाह्रो हुने हुन्छन् । यो रोग सबै उमेर समूहलाई सङ्क्रमित बनाउन सक्छ तर साना बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी र गर्भवती महिलामा डेंगु भएको अवस्थामा जटिल स्वास्थ्य समस्या निम्तिन सक्छ ।
डेंगुको उपचारको लागि कुनै विशिष्ट औषधि नभएकाले लामखुट्टेको टोकाइबाट जोगिनु नै बच्ने मुख्य उपाय हो । डेंगु भएको अवस्थामा, जथाभाबी औषधि खान नहुने सल्लाह दिइन्छ । धेरैजसो बिरामीलाई आराम, पर्याप्त झेलिलो पोषिलो खानेकुरा र ज्वरो घटाउन प्यारासिटामोलले नै आराम मिल्ने बताइएको छ ।
यदि रोगको लापरवाही गरेमा रक्तस्राव, अत्यधिक वान्ता, पेट फुल्ने, सास फेर्न गाह्रो हुने, बेचैनीजस्ता गम्भीर समस्या निम्तिन सक्छ र गम्भीर अवस्थामा मृत्युसमेत हुन सक्ने जोखिम रहन्छ ।
लामखुट्टेको टोकाइबाट जोगिनका लागि पूरा शरीर ढाक्ने कपडा लगाउन, सुत्दा झुलको प्रयोग गर्न, घर र कार्यालय वरपर पानी जम्न नदिने, खाल्डाखुल्डी पुर्ने र सफाइमा ध्यान दिनुपर्ने सल्लाह दिइएको छ ।






