एजेन्सी । साउथका चर्चित अभिनेता अल्लु अर्जुनलाई हैदराबाद प्रहरीले शुक्रबार बिहान घरबाटै पक्राउ गरेको छ । यो गिरफ्तारी हालै डिसेम्बर ४ मा फिल्म ‘पुष्पा–२’ को स्क्रिनिङका क्रममा हैदराबादमा भएको भागदौडको घटनासँग सम्बन्धित छ ।
उक्त घटनामा रेवती नामकी ३९ वर्षीया महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते भएका थिए । पक्राउपछि अल्लु अर्जुनलाई हैदराबादको चिक्कडपल्ली प्रहरी चौकी लगिएको छ । प्रहरीले उनलाई सोधपुछ गर्नुका साथै मेडिकल जाँचका लागि गान्धी अस्पताल लगेको छ, जहाँ सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
अल्लु अर्जुनलाई पक्राउ गर्ने तरिकाप्रति समर्थकहरूले आक्रोश व्यक्त गरेका छन् । बिहानको खाना खान नदिई, बेडरुमबाटै सिधै पक्राउ गरिएको भन्दै उनीहरू आक्रोशित भएका छन् । अभिनेता स्वयंले पनि लुगा फेर्नसमेत समय नदिएको गुनासो गरेका छन् ।
फिल्म ‘पुष्पा–२’ ले साउथ र हिन्दी भाषी क्षेत्रमा चर्चा कमाइरहेको भए पनि यो घटना अभिनेता अर्जुनका लागि समस्याको विषय बनेको छ । स्क्रिनिङका क्रममा मच्चिएको भागदौडपछि अल्लु अर्जुनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत घटनाका लागि माफी माग्दै पीडित परिवारलाई २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।
यद्यपि, मृतक महिलाका परिवारले उजुरी दिएपछि प्रहरीले डिसेम्बर ५ मा अल्लु अर्जुन, उनको सुरक्षा टोली र थिएटर व्यवस्थापनविरुद्ध भारतीय दण्ड संहिताको धारा १०५ र ११८ (१) अन्तर्गत मुद्दा दर्ता गरेको थियो । यसपछि प्रहरी अनुसन्धान तीव्र बनाउँदै थिएटरका सञ्चालक र इन्चार्जलाई पनि पक्राउ गरेको छ ।
भारतीय दण्ड संहिताको धारा १०५ अनुसार दोषी ठहर भएमा कम्तीमा ५ वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्ने व्यवस्था छ । यो घटनाले अभिनेता अर्जुन र उनको फिल्म ‘पुष्पा–२’ दुवैलाई थप विवादमा तानेको छ ।






