सर्लाही । सर्लाहीको बसवरिया गाउँपालिका ३ मा रहेको मुसहर माझी बस्तीका झण्डै ४५ परिवार चिसो र शीतलहरको जोखिममा परेका छन् । खरको झुपडीमा बस्दै आएका यी परिवार अत्यधिक चिसोका कारण पछिल्ला दिनहरूमा समस्यामा छन् ।
बर्सातको डुबान र हिउँदको चिसोले गर्दा बालबालिका र वृद्धवृद्धाले निकै सकसपूर्ण जीवन बिताउनु परेको छ । बस्तीका सुत्केरी महिलाहरू र नवजात शिशुहरू झन् बढी समस्यामा परेका छन् ।
एक सुत्केरी महिलाले नवजात शिशुका लागि न्यानो कपडा नहुँदा निकै कठिनाइ झेल्नुपरेको बताइन् । खरको छानो भएका झुपडीहरूमा चार जना बस्नका लागि बनाइएको सानो ठाउँमा पराल ओच्छ्याएर जीवन धान्नुपरेको छ ।
दैनिक ज्याला मजदुरीमा निर्भर परिवारहरूले चिसोका कारण बाहिर काम गर्न नसक्दा दुई छाक जुटाउन समेत समस्या भएको छ । स्थानीय वृद्ध महिलाले भुइँको चिसो र माथिबाट चुहिने शीतका कारण रात काट्न गाह्रो भएको गुनासो गरिन् । बाँसको टाटीको प्वालबाट छिरेको चिसो हावाले जीउनै सकस भएको उनीहरूको भनाइ छ ।
बस्तीका धेरै पुरुषहरू भारतमा मजदुरी गर्न गएका छन् । उनीहरूले कमाएको पैसा पठाएपछि बालबालिकाका लागि न्यानो कपडा किन्ने र केही राहत हुने आशामा परिवारहरू छन् । तर, अहिलेको चिसो मौसममा उनीहरूले सुत्नका लागि बालिएको घुरकै सहारामा रात कटाउनु परेको छ । स्थानीय समुदायको यो समस्या समाधानका लागि तत्काल राहत र सहयोग आवश्यक देखिन्छ ।




