सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक विद्युतीय भ्यान (ईभी) र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ००५७ नम्बरको ईभी गाडी र विपरीत दिशाबाट आउँदै गरेको कोशी प्रदेश १–०२–००२ ख १३२४ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा ईभी चालकसहित १२ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको छ । घाइतेमध्ये बाराको सुवर्ण गाउँपालिका ४ निवासी ३७ वर्षीय रञ्जित रामको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ ।
घाइतेमध्ये ईभी चालक बारा जिल्लाको महागढीमाई नगरपालिका ६ निवासी ४१ वर्षीय कामेश्वर सहनी र सुवर्ण गाउँपालिका ४ निवासी ४५ वर्षीय भवन रामको अवस्था मध्यम रहेको छ । त्यस्तै, कलैया उपमहानगरपालिका २६ निवासी ३७ वर्षीय उमेश रामको अवस्था पनि मध्यम रहेको छ ।
यस्तै अन्य घाइतेहरूमा महागढीमाई नगरपालिका ९ निवासी ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका ४ निवासी ४० वर्षीय राजदेव राम र विनोद राम, ४७ वर्षीय रुदल राम र सुवर्ण गाउँपालिका ७ निवासी ६३ वर्षीय हरिहर राम रहेका छन् ।
यस्तै, कलैया उपमहानगरपालिका २६ निवासी ३७ वर्षीय नन्दन राम, पचरौता नगरपालिका ७ निवासी ५५ वर्षीय रामसन्देय राम तथा सिम्रौनगढ गाउँपालिका ४ निवासी ४० वर्षीय नवलकिशोर राम रहेका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका ४ क्याम्पसचोक निवासी करिब ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने प्रयास भईरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




